काठमाडाैँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा आज भेटवार्ता हुने भएको छ । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार नयाँदिल्ली पुगेका हुन् ।
भारतीय समकक्षी मोदीसँग प्रधानमन्त्री देउवाको बेग्लै र प्रतिनिधिमण्डलस्तरीय हैदराबाद हाउसमा वार्ता हुनेछ । द्विपक्षीय औपचारिक वार्तापछि प्रधानमन्त्री देउवा र मोदीले चारवटा परियोजनाको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रम भने भर्चुअल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त रुपमा उद्घाटन गरिने परियोजनामा भूकम्पपछि पुनर्निर्माण भएका १३२ वटा स्वास्थ्य चौकी, नेपाल र भारतबीच रुपी कार्ड सञ्चालन, ९० किलोमिटर लामो १३२ केभीको सोलु करिडोर प्रसारण लाइन र कुर्था–जयनगर ३५ किलोमिटर रेल सेवा रहेका छन् ।
द्विपक्षीय सम्झौताको आदानप्रदान र प्रधानमन्त्रीले संयुक्तरूपमा प्रेस वक्तव्य जारी गर्ने कार्यक्रम पनि तय भएको छ । त्यसपछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवाले आजै दिउँसो ४ः३० बजे भारतका उपराष्ट्रपति वेन्कैया नायडूसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री देउवाले आजै साँझ भारतीय व्यापारिक समुदायसँग अन्तरक्रिया गर्नेछन् ।

