Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

भ्याली भ्यु स्कुल अन्तरविद्यालय कविता प्रतियोगिता सम्पन्न, २७ विद्यालयका ४० विद्यार्थी सहभागिता

आर्थिक पत्र
बिहिवार, श्रावण ३ २०८१
  • काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा रहेको भ्याली भ्यु स्कुलमा कविता वाचन र कविता प्रतियोगिता गरी भानुजयन्ती मनाइएको छ। २११औं भानुजयन्तीका अवसरमा सत्रौं उपत्यकाव्यापी अन्तरमाध्यमिक विद्यालयस्तरीय कविता प्रतियोगितालगायत गतिविधि गरी विद्यालयले भानुजयन्ती मनाएको हो।

    विद्यालयले आयोजना गरेको भानुजन्तीका अवसरमा वरिष्ठ साहित्यकार प्राडा वासुदेव त्रिपाठी, कवि तथा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साललगायतका कविहरूको सहभागिता रहेको थियो। कार्यक्रममा डा. लम्सालले कविता वाचन गरेर विद्यार्थीलाई सुनाएका थिए।

    विद्यार्थीले पनि भानुभक्तमा आधारित कविता, संस्कृति गीतलगायत प्रस्तुतिहरू प्रदर्शन गरेका थिए। कविता वाचन गर्दै डा. लम्सालले विद्यार्थीहरूलाई साहित्य सिर्जना गर्न विद्यालयमा गरिने गतिविधिले सहयोग गर्ने बताए। ‘किताबी ज्ञान मात्रै भएर हुँदैन, विद्यार्थीमा अन्य रचनात्मक प्रतिभा पनि हुनुपर्छ,’ उनले भने, ‘विद्यालयहरूले आयोजना गरेका गतिविधिले विद्यार्थीलाई साहित्यको बाटो डोर्‍याउन सहयोग पुर्‍याएको छ।’

    भ्याली भ्यु स्कुलले आयोजना गरेको विद्यालयस्तरीय कविता प्रतियोगितामा युनाइटेड एकेडेमी, इमाडोलकी छात्रा आराध्या पराजुलीले प्रथम स्थान हासिल गरेकी छिन्। कविता प्रतियोगितामा द्वितीय पुरस्कार कान्ति भैरव गुरुकुल स्कुल गोकर्णेश्वरका पुसप खरेल, तृतीय पुरस्कार पाठशाला फाउन्डेसन नेपाल बागडोलका समिरन चालिसे र चतुर्थ पुरस्कार डियरवाक स्कुल सिफलका अनुश्री आचार्यलाई प्रदान गरिएको छ।

    प्रतियोगितामा उपत्काका २७ विद्यालयका कक्षा १० सम्म अध्ययनरत ४० जना विद्यार्थीले भाग लिएको भ्याली भ्यु स्कुलका प्रधानाध्यापक सुभाषचन्द्र भण्डारीले बताए। उनले विद्यालयले आयोजना गरेको यस प्रकारको कार्यक्रमले विद्यार्थीलाई साहित्यिक बाटोमा अग्रसर हुन र प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने बताए। विद्यालयले १७ वर्षदेखि भानुजयन्तीको अवसरमा यसरी नै कविता प्रतियोगिता आयोजना गर्दै आइरहेको छ। 

    यसै गरी यस वर्षको कला साधना शैक्षिक सम्मान वरिष्ठ कलाकार मिथिला शर्मालाई प्रदान गरिएको छ। भ्याली भ्यु स्कुलले नै असार ३० गते सम्पन्न गरेको भानुजयन्ती विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त सम्मान अर्पण गरिएको थियो। प्राथमिक तहका विद्यार्थीलेले उक्त सांस्कृतिक कार्यक्रमका अवसरमा विविध  लोकनृत्यको प्रस्तुति, नाटक प्रदर्शन, गीत-गायन तथा कविता वाचन गरेका थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार