Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

'मोक्ष मुस्ताङ'काे व्यवस्थापन शिन्तामणी होटलले गर्ने, एउटै काेठाकाे ३ हजार डलरसम्म

'मोक्ष मुस्ताङ'काे व्यवस्थापन शिन्तामणी होटलले गर्ने, एउटै काेठाकाे ३ हजार डलरसम्म

सोमवार, चैत्र २१ २०७८
  • काठमाडौँ । अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणी होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ ।

    मुस्ताङकाे चर्चित मोक्ष होटलको व्यवस्थापनलाई  शिन्तामणि होटलले लिएको हो । शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणी होटलले गर्ने जनाइएको छ । शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा आरामदायि होटल सञ्चालन गर्दै आएको छ । यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ ।

    शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो । रु एक अर्ब १० करोड लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन भने आगामी अक्टोबरदेखि सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो ।

    रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ ।

    कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ । कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ ।

    अमेरिकन आर्किटेक बिल  बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको सुरुआत गरेका हुन् । कम्बोडियाको जङ्गल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ । विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम सुरु गरिएको जनाइएको छ ।

    शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन होटलले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले लक्जरीयस सुविधा खोज्ने पर्यटकलाई अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा दिन पाउने अवसर जुरेकोमा खुसी व्यक्त गरे ।

    कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी फेरिएसँगै नेपालमा खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ । महामारीका कारण दुई वर्ष होटलका लागि निकै चुनौतीपूण रहेको र अब होटललाई नयाँ ढङ्गले सञ्चालन गर्ने योजना अनुरुप शिन्तमणि होटलसँग सहकार्य गरिएको सिइओ शेर्पाको भनाइ छ ।

    शिन्ताममणि होटलका निर्देशकसमेत रहेको आर्किटेक्चर  बेन्स्लीले मोक्ष होटलले स्तरीय सेवा सुविधा उपलब्ध गराउने जानकारी दिए । अर्का निर्देशक जोसन फ्राइडम्यानले आफू नेपालमा पछिल्लो ३० वर्षदेखि भ्रमण गरिरहेको र नेपालमा पनि परियोजना सञ्चालन गर्ने रहर पहिलादेखि रहेकाले अहिले साकार भएको बताए ।

    मोक्ष होटल समुद्री सतहबाट दुई हजार ८०० मिटरको उचाइमा रहेको छ । शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायि होटल सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार