Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत

आर्थिक पत्र
शुक्रवार, पौष १९ २०८१
  • महोत्तरी– चिनी उद्योगलाई बुझाएको उखुको एक साताभित्रै भुक्तानी पाएपछि महोत्तरीका उखु किसानलाई राहत मिलेको छ । जिल्लाको गौशाला–१ स्थित एभरेस्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिजले किसानलाई उखु तौलिएको एक साताभित्रै भुक्तानीको नीति नै बनाएपछि किसानलाई समयमै रकम पाउँदा राहत मिलेको हो ।

    यसपालिको सिजनलाई सरकारले तोकेको मूल्यमा किसानले मन कुँड्याएका छन् । गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धि गरिनुपर्ने किसानको माग भए पनि सरकारले भने प्रतिक्विन्टल २० वृद्धि गरेको छ । आफ्नो उत्पादनले उचित मूल्य नपाएको गुनासो पोख्ने किसानले भुक्तानी भने उद्योगले तौल भएको एक साताभित्रै गरिदिँदा राहत महसुस गरेका हुन् । यसपालि उखुको मूल्य पाँच सय ८५ प्रतिक्विन्टल तोकिएको छ । 

    गत वर्ष यो मूल्य पाँच सय ६५ प्रतिक्विन्टल थियो । यसबाहेक सरकारले प्रतिक्विन्टल ७० अनुदानबापत दिनेछ । यो अनुदान रकम भने सरकारले दसैँ, तिहार पर्वका बेला पारेर दिँदै आएको छ ।

    गत मङ्सिर २६ गतेदेखि उखु क्रसिङ थालेको चिनी मिलले यसबीचमा तीन पटक भुक्तानी दिइसकेको छ । 

    ‘मूल्यमा त हामी थिचिएकै हौँ, तर भुक्तानी भने उद्योगले निकै सजिलो बनाएको छ, उखु तौल भएको सात दिन नकट्दै हाम्रै खातामा रकम आइसक्छ’, भङ्गाहा–४ का किसान अरुण गिरीले भने , ‘पछिल्ला दुई वर्षयता सहज हुँदै गएको भुक्तानी प्रक्रियाले नै उखु खेतीमा जाँगर जोडेको छ ।’

     त्यसअघि उखु तौल भएको वर्ष दिनसम्म भुक्तानी नपाएर रुँदै हिँड्नुपरेको दुःख अहिलेको सहज भुक्तानीले बिर्साइदिएको किसान बताउँछन् ।

    उद्योगले यसपालि क्रसिङ थालेको तीन साताभित्र नै तीन पटक भुक्तानी दिइसकेको छभने चौथोपटकको भुक्तानी दिने तयारी गरेको छ । ‘पुस १० गतेसम्म तौल भएको उखुको भुक्तानी भइसकेको छ, अब हामी पुस १५ सम्म भएको तौलको भुक्तानी तयारी गर्दै छौँ’, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्लाले भने,’सामान्यतः तौल भएको पाँच–पाँच दिनमा भुक्तानी गर्ने नीति बनाइएको छ ।’

      चौथोपटकको भुक्तानी भोलिसम्म गरिने उहाँको भनाइ छ । उद्योगले पुस १० सम्म तौल भएको उखुको जम्मा २५ करोड छ लाख १३ हजार नौ सय ८६ भुक्तानी गरिसकेको छ ।

    उखु उत्पादक किसानका प्रतिनिधि संस्थाले मूल्यमा आफूहरूको माग सरकारले नसुनेको गुनासो गर्दै आएका छन् । ‘हामीले गत वर्षको मूल्यमा १५ प्रतिशत वृद्धिको माग गरेका थियौँ, तर सरकारले प्रतिक्विन्टल रू २० थपेर झारा टारेको छ’, उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाह भन्छन्, ‘यसमा सरकारले पुनर्विचार गर्नुपर्छ ।’

    आर्थिक वर्ष २०८१/८२ मा एभरेस्ट चिनी उद्योगले ३५ लाख उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । यो गत वर्षभन्दा छ लाख क्विन्टल बढी हो । यसपालि उखुको क्षेत्रफल र उत्पादन दुवै बढेको छ । दुई दशकअघि जिल्लामा १५ हजार बिघामाथि पुगेको उखुखेती भुक्तानी झमेलाले घट्दै गएर तीन वर्षअघि पाँच हजार बिघामा झरेको थियो । 

    उद्योगले भुक्तानी सहज बनाउँदै लगेपछि किसानले फेरि उखुखेती बढाउँदै लगेका छन् ।  यसपालि नौ हजार बिघामा उखुखेती गरिएको छ । आउने वर्षका लागि माघसम्मै उखु रोपिने हुँदा खेती अझै केही बढ्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार