Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जुम्लामा आठ हजारबढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

जुम्लामा आठ हजारबढी छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने

आर्थिक पत्र
शनिवार, पौष २७ २०८१
  • जुम्ला । जुम्लाका आठ वटै स्थानीय तहका आठ हजार आठ सय २९ जना छात्रालाई क्यान्सरविरूद्धको खोप दिइने भएको छ।

    नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका सामुदायिक तथा निजी विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब आठ हजार आठ सय २९ छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरूद्धको खोप दिइने जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले जानकारी दिए।

    उक्त भाइरसविरूद्धको खोप कार्यक्रम सञ्चालनका लागि जिल्लाका सबै स्थानीय तहबाट तथ्यांक संकलन भइरहेको छ। देशव्यापी खोप कार्यक्रमअन्तर्गत आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म एकै पटक सञ्चालन हुनेछ। जुम्लाको हकमा फागुनदेखि सामुदायिक विद्यालय खुल्ने भएकाले त्यसैअनुसार कार्यालयले खोप कार्यक्रम सञ्चालनका लागि स्थानीय तहका स्वास्थ्य शाखासँग छलफल भइरहेको छ।

    कार्यालय प्रमुख सापकोटाले भने, ‘विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका एक हजार पाँच सय ८६ जना र विद्यालयभित्रका सात हजार दुई सय ४३ गरी आठ हजार आठ सय २९ जना छात्रालाई उक्त खोप लगाउने तयारी गरिएको छ।’

    कार्यालयको तथ्याङ्कअनुसार जिल्लाको चन्दननाथ नगरपालिकाका एक हजार आठ सय ७९ जना, गुठीचौर गाउँपालिकामा पाँच सय २०, हिमामा एक हजार १३ र कनकासुन्दरीमा नौ सय ६७ जनालाई खोप लगाइने छ। त्यस्तै पातारासी गाउँपालिकामा एक हजार एक सय ५८, सिंजामा नौ सय सात, तातोपानीमा एक हजार एक सय ५३ र तिलामा एक हजार दुई सय ३२ जना छात्रालाई खोप लगाउने योजनाबारे छलफल भइरहेको स्वास्थ्य कार्यालय जुम्लाका प्रमुख सापकोटाको भनाइ छ।

    विद्यालय बाहिर रहेका किशोरीको हकमा जन्म दर्ताका आधारमा उमेर हेरेर खोप लगाइने छ। नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीलाई एचपिभीको सङ्क्रमणबाट सुरक्षित हुन अभियान सञ्चालन गर्न लागिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार