सिन्धुपाल्चोक । प्रकृतिका सुन्दर वस्तु हेर्न कसलाई मन नलाग्ला र ? यस्ता वस्तुले मनलाई प्रफुल्ल बनाउने मात्रै होइन जीवनमा नयाँ रंग पनि भरिदिन्छ । दुःख पीडा भुलाउने त छदैछ मन शान्त र सुमधुर बनाउँछ ।
यस्तै, सुन्दर प्राकृतिक पर्यटकीय गन्तव्यमध्ये एक हो सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–३ स्थित स्याबल, सत्य, न्याखर्क पोखरी । यहाँ पुग्ने जोसुकैले फर्कदा भिन्न महशुस गर्ने गरेको बताउँछन् ।
समुद्री सतहबाट ४२ सय मिटर उचाइमा रहेको स्याबल पोखरी, ४३ सय ६५ मिटरको सत्य(बौलाह) पोखरी, ४३ सय ६७ मिटर उचाईमा रहेको न्याखर्क पोखरी धार्मिक तीर्थस्थलका रुपमा समेत परिचित छ । विशेषगरी स्याबल प्राकृतिक सुन्दरताले सजिएको एक मनमोहक पोखरी हो । यो पोखरीको लम्बाई पाँच सय मिटर र चौडाई तीन सय मिटर छ । यो अण्डाकारमा फैलिएको छ ।
लामा गुरु निमा शेर्पाका अनुसार खर्कमा चर्न गएको चौरी एकाएक हराएपछि गोठालोहरूले चौरी खोज्ने क्रममा स्याबल पोखरी फेला पारेका हुन् । चौरीहरूले पोखरीको डिलको ढुंगामा दुध दिएको देखेपछि भगवान महादेव रहेको विश्वासमा पुजाआजा गर्न थालिएको थियो । उनका अनुसार आँखा चिम्लेर वरदान माग्दा गोठालाहरूको हातमा चौरीको भुत्ला हातमा परेको विश्वास छ । यसपछि चौरीको गोठ बड्न थालेको र आम्दानी पनि बढेको विश्वास गरियो ।
१३ पुस्तादेखि तेम्बाथान, दिपु, तेगाका स्थानीय जनै पूर्णिमाका दिन झाँक्रीसहित पुजा गर्न र वरदान माग्न स्यापल पोखरी पुग्ने गरेका छन् । धन माग्नेले धन, सन्तान माग्नेले सन्तान पाएको भन्दै स्यापल पोखरी महादेवप्रति स्थानीयको विश्वास बलियो छ ।




