काठमाडौँ । नेपाल पर्यटन बोर्डले हाल नेपाल भ्रमणका लागि जारी ट्राभल एड्भाइजरीहरू खुकुलो पार्न आग्रह गरेको छ। दशैंको अवसरमा बिहीबार आयोजित ‘मिट एन्ड ग्रिट विथ डिप्लोम्याटिक कोर्स’ कार्यक्रममा बोर्डका सिइओ दीपकराज जोशीले नेपाल सामान्य अवस्थामा फर्किसकेको र पर्यटकका लागि पूर्ण सुरक्षित रहेको जानकारी गराउनुभयो।
गत भदौ २४ र २५ गते भएको जेनजी आन्दोलनपछि केही देशका दूतावासहरूले सतर्कता अपनाउन ट्राभल एड्भाइजरी जारी गरेका थिए। तर हाल स्थिति पूर्णरूपमा सामान्य भइसकेको भन्दै सिइओ जोशीले राजनीतिक स्थायित्व, सुरक्षा, यातायात, र स्वास्थ्य सेवाको अवस्था सन्तोषजनक रहेको बताए।
कार्यक्रममा अमेरिका, भारत, इजिप्ट, कतार, मलेसिया, पाकिस्तान लगायत १५ देशका राजदूत र प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पनि नेपाल भ्रमण योग्य रहेको सन्देश अन्तरराष्ट्रिय समुदायमा फैलाउन आग्रह गर्नुभयो।

