Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

तमोर-मेवा जलविद्युत आयोजनाका लागि २३ अर्ब लगानी जुट्यो

तमोर-मेवा जलविद्युत आयोजनाका लागि २३ अर्ब लगानी जुट्यो

आर्थिक पत्र
शुक्रवार, आश्विन २४ २०८२
  • काठमाडौं । ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत आयोजनाले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ।

    स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित यस आयोजनाको वित्तीय व्यवस्थापन सम्झौता बिहीबार काठमाडौंको नक्सालस्थित सिद्धार्थ बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो।

    सम्झौतामा कम्पनीका अध्यक्ष श्रवणकुमार गोयल र सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट क्रेडिट हेड अमित श्रेष्ठले हस्ताक्षर गरेका छन्।

    कम्पनीका प्रबन्ध निर्देशक ई। सुदीपकुमार चौधरीका अनुसार, आयोजनाको लीड बैंक सिद्धार्थ बैंक लिमिटेड र को–लीड बैंक माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन्। यससँगै कृषि विकास बैंक लिमिटेड, नेपाल एसबीआई बैंक लिमिटेड, ज्योति विकास बैंक लिमिटेड, आईसीएफसी फाइनान्स लिमिटेड, नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगायतका बैंक तथा वित्तीय संस्थाहरू सहवित्तीयकरणमा सहभागी छन्।

    आयोजनाको कुल अनुमानित लागत २३ अर्ब ४ करोड रुपैयाँ रहेको छ। त्यसमध्ये ७५ प्रतिशत रकम दीर्घकालीन आयोजना ऋणका रूपमा बैंक तथा वित्तीय संस्थाबाट जुटाइनेछ भने २५ प्रतिशत स्वपूँजी प्रवर्द्धकहरूले लगानी गर्नेछन्।

    स्पार्क हाइड्रोइलेक्ट्रिकले यसअघि नै २०७७ असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ। त्यस्तै, पर्यावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन २०७५ असार ३१ गते तत्कालीन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत भएङ्को थियो ।

    नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता २०८० असोज २४ गते सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। हाल आयोजनाको करिब २५ प्रतिशत भौतिक प्रगति भइसकेको र निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीका प्रबन्ध निर्देशक चौधरीले बताए। उनका अनुसार, आयोजना ३ वर्ष ६ महिनाभित्र सम्पन्न गरी २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादनमा ल्याउने लक्ष्य राखिएको छ।

    वित्तीय व्यवस्थापन सम्झौता कार्यक्रममा कम्पनीका संस्थापक अध्यक्ष भानेन्द्रकुमार लिम्बू, प्रबन्ध निर्देशक चौधरी, संचालकहरू, लगानीकर्ता बैंकका प्रतिनिधि, तथा विभिन्न बैंक–वित्तीय संस्थाका उच्च पदस्थ अधिकृतहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार