Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मनसुनपछिको खुला मौसमले मनाङमा पर्यटक चहलपहल बढ्यो

मनसुनपछिको खुला मौसमले मनाङमा पर्यटक चहलपहल बढ्यो

आर्थिक पत्र
आइतवार, कार्तिक २ २०८२
  • काठमाडौं । मनसुन सकिएसँगै मौसम खुलेपछि हिमाली जिल्ला मनाङमा विदेशी पर्यटकको चहलपहल फेरि बढ्न थालेको छ। पछिल्लो डेढ महिनामा मात्रै ७ हजार ४६१ पर्यटक मनाङ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ।

    एक्याप मनाङ एकाइका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार हालसम्म इजरायलबाट सबैभन्दा धेरै—१,१२७ पर्यटक आएका छन्। यस्तै, जर्मनीबाट ५०१, बेलायतबाट ४६६ र अस्ट्रेलियाबाट ४४१ जनाले अन्नपूर्ण पदमार्ग, थोराङला, तिलिचो ताल र लार्के भञ्ज्याङ क्षेत्रको भ्रमण गरेका छन्।

    पर्यटक आगमन बढ्दै जाँदा स्थानीय पर्यटन व्यवसायी आशावादी देखिएका छन्। जेन–जी आन्दोलन र मनसुनपछिको बाढीपहिराका कारण होटल बुकिङ रद्द भएका थिए। तर अहिले ती होटलहरू फेरि भरिन थालेको होटल व्यवसायी नवीनविक्रम सिंहले बताए। “जति पर्यटक आउनुपर्ने थियो, त्यति नभए पनि अवस्था सुधारतर्फ छ,” उनले भने।

    पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार शान्ति कायम हुँदै जाँदा विदेशी पर्यटकको विश्वास फर्किन थालेको छ। "मनाङको आयस्तरले देशकै अर्थतन्त्रमा प्रभाव पार्छ," उनले भने।

    यद्यपि व्यवसायीहरूका अनुसार ठूला होटल, जस्तै हिल्टन होटलमा आगजनी जस्ता घटनाले अन्तर्राष्ट्रिय पर्यटकबीच त्रास फैलाएको छ। जसका कारण अपेक्षित संख्यामा पर्यटक आउन सकेका छैनन्।

    पर्यटकहरूको आकर्षण अन्नपूर्ण पदमार्ग, हिमाली दृश्य, स्थानीय संस्कार–संस्कृति र जीवनशैलीप्रति केन्द्रित हुने गरेको छ। अन्नपूर्ण पदमार्ग लमजुङको बेँसीसहरबाट सुरु भई मनाङ, मुस्ताङ, म्याग्दी र कास्की जोडिन्छ। विश्वकै जोखिमयुक्त पदमार्गमध्ये एक मानिने यो मार्ग हुँदै पर्यटक थोराङ पास पार गरेर मुस्ताङ हुँदै पोखरा पुग्ने गर्छन्।

    हाल सडक पूर्वाधारमा सुधार आएपछि पर्यटक सवारीसाधनमार्फत चामेसम्म पुग्न थालेका छन्। त्यहाँबाट मात्र पदयात्रा सुरु गर्ने प्रचलन बढेको छ।

    स्वदेशी पर्यटकको संख्या पनि बिस्तारै बढ्दै गएको पाइन्छ। ग्रामीण पर्यटनमा बढ्दो आकर्षण र जोखिमपूर्ण गन्तव्य रोज्ने प्रवृत्तिले स्वदेशी पर्यटन पनि चलायमान हुँदै गएको देखिन्छ।

    विशेषगरी, वास्तविक प्राकृतिक जीवन र मौलिक संस्कृतिको अनुभव लिन चाहने पर्यटकहरूका लागि मनाङ अझै पनि प्रमुख गन्तव्य रहिरहेको व्यवसायीहरूको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार