काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रंकलाइन बिजुलीका करिब ८ अर्ब रुपैयाँ बक्यौता उठाउनका लागि देशभरका २५ वटा उद्योगको बिजुली आपूर्ति बन्द गराउँदा काठमाडौं महानगरपालिकालाई भने उन्मुक्ति दिएको खुलेको छ।
घिसिङ नेपाल विद्युत् प्राधिकरणका महानिर्देशक रहँदा काठमाडौँ महानगरपालिकाले प्राधिकरणलाई १ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ बिजुली महसुल तिर्न बाँकी रहेको तथ्यांक सार्वजनिक भएको थियो। तर त्यसयता पनि महानगरले उक्त रकम भुक्तानी गरेको रेकर्ड प्राधिकरण सँग छैन।
मन्त्री घिसिङले दुई वटा सरकारी उद्योग सहित काठमाडौँ महानगरको बक्यौता उठाउन भने खासै चासो नदिएको प्राधिकरण स्रोतको दाबी छ।
महानगरले भने पत्रमार्फत महसुल तिर्ने तयारी जनाए पनि प्राधिकरणले ‘कुन बिलको कति रकम बाँकी छ’ भन्ने विवरण नदिएकाले भुक्तानीमा ढिलाइ भएको दाबी गरेको छ। तर प्राधिकरणका अधिकारीहरू भने महानगरले बखेडा झिकेर पैसा तिर्ने मनसाय नराखेको र मन्त्रीले चासो नदिँदा महानगरको मनोबल बढेको आरोप लगाउँछन्।
यसबीच प्राधिकरणले बक्यौता असुलीका लागि उद्योगहरूमा कडाइ बढाएको छ। प्रवक्ता राजन ढकालका अनुसार तिहारका क्रममा ६ वटा उद्योगको बिजुली काटिएकोमा शुक्रबार रातिदेखि थप १९ वटा उद्योगको लाइन काटिएको हो।
बिजुली काटिएका उद्योगहरूमा पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, कसमस सिमेन्ट, एसआर स्टिल, पञ्चकन्या प्लास्टिक, भलवारी स्वचालित कारखाना, जगदम्बा सेन्थेटिक, एभरेस्ट रोलिङ, घराना फुड्स, विशाल सिमेन्ट, बुटवल सिमेन्ट, निगाले सिमेन्ट, सिद्धार्थ पेट प्लान्ट, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न र सोना मिनरल्स एन्ड आयल्स छन्।
यसअघि नै जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट र त्रिवेणी स्पिनिङ मिल्स को लाइन काटिसकिएको थियो। यी उद्योगहरूबाट मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेको प्राधिकरणले जनाएको छ।

