काठमाडौँ ।उपभोक्ता संरक्षण ऐनअनुसार आवश्यक कार्य नगरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्ट उद्योगलाई रु २ लाख ५ हजार जरिवाना गरेको छ। विभागले आइतबार रुपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा एकैपटक गरेको बजार अनुगमनका क्रममा उक्त कार्यवाही गरिएको हो।
विभागका अनुसार उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र दफा ३८ बमोजिमका कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा ३९(१) अनुसार जरिवाना गरिएको हो। ऐनले वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा लगायतका पक्षमा अनियमितता देखिएमा यसलाई अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलाप मानिने व्यवस्था गरेको छ।
ऐनको दफा ३९ अनुसार बजार अनुगमन वा निरीक्षणका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले सम्बन्धित उत्पादक, सञ्चयकर्ता, बिक्रेता वा सेवा प्रदायकलाई रु २ लाखदेखि रु ३ लाखसम्म जरिवाना गर्न सक्ने प्रावधान छ।
यस्तै, विभागले तिरुपति फुड प्रोसेसिङ इण्डस्ट्रिज, सिद्धार्थनगर, रुपन्देहीलाई पनि रु २ लाख ५ हजार जरिवाना गरेको जानकारी दिएको छ।
पञ्चकन्या स्टीललाई भने विभागले सामान्य निर्देशन मात्र दिएको छ।
अनुगमनका क्रममा विभागले निम्न उद्योग तथा प्रतिष्ठानमा स्थलगत निरीक्षण गरेको थियोःआकवा मिनरल्स,त्रिकोण बेभरेज,कुण्डपानी प्रशोधन उद्योग,अन्नपूर्ण इन्डस्ट्रिज,एनबी बेभरेज,शुभकामना मिनरल वाटर एन्ड बेभरेज,चण्डेस्वरी मिनरल वाटर एन्ड बेभरेज,झरना प्योर ड्रिङ्किङ वाटर प्रालि,कीर्तिपुर सहकारी खानेपानी उद्योग
विभागले अनुगमनलाई नियमित रूपमा तीव्र बनाउँदै उपभोक्ताको हक–अधिकार संरक्षणमा कडाइका साथ काम गर्ने जनाएको छ।

