Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

आर्थिक पत्र
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो।

    ४५ मेगावाट क्षमताको चुम्चेत स्यार खोला जलविद्युत् आयोजना चिलिमे जलविद्युत् कम्पनीले गोरखाको चुम्चेत क्षेत्र बुढीगण्डकी नदीमा निर्माण गर्नेछ। नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक करिब ३४८ गिगावाटघण्टा ऊर्जा उत्पादन हुने अनुमान छ। उत्पादित विद्युत् ११० किमी लामो २२० केभी प्रसारण लाइनमार्फत न्यू बुढीगण्डकी प्रोक सबस्टेसनमा जोडिनेछ।

    रसुवागढी, साञ्जेन र मध्य भोटेकोशी आयोजना पूरा भइसकेकाले चिलिमे कम्पनीका लागि स्यार खोला अर्को महत्त्वपूर्ण परियोजनाका रूपमा रहेको विभागले बताएको छ।

    यस्तै, विभागले ८.६० मेगावाट क्षमताको मिडिल लिखु जलविद्युत् आयोजना (रामेछाप, साँघुटार) र ४.८९ मेगावाट क्षमताको छोमरोङ खोला जलविद्युत् आयोजना (घान्द्रुक) लाई पनि उत्पादन अनुमति प्रदान गरेको छ।

    विभागका अनुसार हालसम्म कुल २६३ जलविद्युत् परियोजनाले उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेका छन्, जसको संयुक्त क्षमता ११ हजार ९७ मेगावाट पुगेको छ। चालू आर्थिक वर्षमा मात्र १३ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति दिइएको उल्लेख छ।

    यस्तै, हालसम्म १९३ आयोजनाले सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएका छन्। चालू आर्थिक वर्षमा मात्रै ४२ नयाँ आवेदन परेको विभागले जनाएको छ। ती प्रस्तावित आयोजनाहरूको संयुक्त क्षमता करिब ९ हजार ६८९ मेगावाट रहेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार