लुम्बिनी । लुम्बिनीमा लगानी र पर्यटनको सम्भावनाबारे बहस गरिएको छ। लुम्बिनी प्रेस क्लबको आयोजनामा आइतबार लुम्बिनीमा सम्पन्न न्युज फेस्टिवल २०८२ अन्तर्गत उक्त विषयमा बहस कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले संघीय सरकारले लुम्बिनीमा अपेक्षित लगानी नगरेको गुनासो गरिन्। उनले स्थानीय सरकारले भने बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा धार्मिक स्थलहरूको विकास गर्दै पर्यटकीय पूर्वाधार विस्तारमा जोड दिइरहेको बताइन्। स्थानीय तहको सक्रियताले लुम्बिनी क्षेत्रको पर्यटन विकासमा योगदान पुग्ने उनको भनाइ थियो।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी, तिलौराकोट र रामग्राम क्षेत्रलाई केन्द्रमा राखेर विकास कार्य अघि बढिरहेको जानकारी दिए। उनले गुरुयोजनाभन्दा बाहिर गएर कुनै पनि काम नगरेको स्पष्ट पार्दै हाल १ हजार १५५ बिगाहा क्षेत्रफलभित्र विकास गतिविधि सञ्चालन भइरहेको बताए।
लुम्बिनी होटल एसोसिएसनका अध्यक्ष लिलामणि शर्माले लुम्बिनीमा हालसम्म मुख्यतः दिवा पर्यटन सीमित रहेको उल्लेख गर्दै अब अध्यात्मिक पर्यटन भित्र्याउन आवश्यक रहेको बताए। यसका लागि दीर्घकालीन बसाइ र ध्यान–साधनासँग जोडिएका कार्यक्रम विकास गर्नुपर्नेमा उनले जोड दिए।
पत्रकार रुपेश श्रेष्ठले २० वर्ष अघिको लुम्बिनी र हालको लुम्बिनीमा खासै फरक नदेखिएको टिप्पणी गरे। उनले सरकारले व्यवसाय नगर्ने स्पष्ट पार्दै निजी क्षेत्र र स्थानीय समुदायले नै पर्यटन तथा लगानीको नेतृत्व गर्नुपर्ने धारणा राखे।

