वासिङ्टन डिसी । संयुक्त अरब इमिरेट्स (यूएई)सँग जोडिएको एक लगानी कम्पनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पारिवारिक क्रिप्टो कम्पनीको ठुलो हिस्सा किनेको छ । सीएनएनले बताएअनुसार सो कम्पनीले वर्ल्ड लिबर्टी फाइनान्सियलको ४९ प्रतिशत सेयर ५० करोड डलरमा किनेको हो । वाल स्ट्रिट जर्नलका अनुसार सम्झौता ट्रम्पको दोस्रो शपथग्रहण हुन चार दिनअघि राष्ट्रपति पुत्र एरिक ट्रम्पले हस्ताक्षर गरेका थिए ।
खरिदकर्ता समूह युएईका प्रभावशाली शाही सदस्य शेख तह्नुन बिन जायद अल नाहयानसँग सम्बद्ध रहेको बताइएको छ । कागजातअनुसार प्रारम्भिक भुक्तानीमध्ये १८ करोड ७० लाख डलर ट्रम्पको परिवारिक कम्पनीमा गएको छ । कम्तीमा ३ करोड १० लाख डलर भने स्टिभ विटकफको परिवारको नाममा रहेका कम्पनीमा गएको छ । यस सम्झौताले ट्रम्प प्रशासनमाथि सम्भावित हित–द्वन्द्वबारे नयाँ प्रश्न उठाएको छ ।तर ह्वाइट हाउसले आरोप खारेज गर्दै ट्रम्पका सम्पत्ति ट्रस्टमार्फत व्यवस्थापन भइरहेको र कुनै द्वन्द्व नभएको जनाएको छ । आफू कम्पनीबाट अलग्गिएको र सरकारी कामसँग वित्तीय स्वार्थ नजोडिने मध्यपूर्वका लागि विशेष दूत विटकफले बताएका छन् ।
वर्ल्ड लिबर्टी फाइनान्सियलका प्रवक्ताले ट्रम्प र विटकफ दुवै सम्झौतामा संलग्न नभएको दाबी गरेका छन् । साथै, यो सम्झौता अमेरिकी एआई चिप नीतिसँग जोडिएको आरोप पूर्णतः गलत भएको उनको भनाइ छ । निर्णय शुद्ध व्यावसायिक आधारमा गरिएको कम्पनीको जिकीर छ ।

