काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । गुल्मी र बागलुङलाई राष्ट्रिय प्रसारण प्रणालीसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा उक्त प्रसारण लाइन सञ्चालनमा ल्याएको हो । दुई दिनसम्म गरिएको प्राविधिक परीक्षण सफलता पूर्वक सम्पन्न गरी मंगलबारदेखि लाइन मार्फत नियमित विद्युत् प्रवाह सुरु गरिएको प्राधिकरणले जनाएको छ । आयोजना नेपाल विद्युत् प्राधिकरण अन्तर्गत निर्माण गरिएको ‘बुर्तिबाङ–पौदीअमराइ–तम्घास–सन्धिखर्क–गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना’ को एउटा खण्ड हो ।
तम्घास–बुर्तिबाङ १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आए सँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मंगलबार आयोजनाको स्थलगत अनुगमन गरेका छन् ।शाक्यले गुल्मीको रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सबस्टेसन, मुसिकोट नगरपालिका अन्तर्गतको पौँदीअमराइ सबस्टेसन तथा बागलुङको ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनको स्थलगत निरीक्षण गरेका छन् ।निरीक्षणका क्रममा उनले यो प्रसारणलाइनले घरेलु उपभोक्ता मात्र होइन, साना तथा ठुला उद्योग व्यवसायलाई समेत उल्लेखनीय सहयोग पुर्याउने बताए । उनले भरपर्दो विद्युत आपूर्तिले उद्योग व्यवसाय विस्तारमा टेवा पुग्ने, रोजगारी सिर्जना हुने तथा युवा पलायन कम गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । यसले भविष्यमा औद्योगिक विकास, कृषि आधुनिकीकरण र सेवा क्षेत्रको विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाक्यको भनाइ थियो ।
शाक्यले विद्युत् आपूर्ति व्यवस्थालाई सुदृढ, भरपर्दो, गुणस्तरीय तथा विश्वसनीय बनाउने उद्देश्यले प्राधिकरणले उक्त आयोजनालाई महत्त्वपूर्ण रूपमा लिएको बताए । उनले भने, ‘यहाँबाट पौँदीअमराइ सवस्टेसन र बुर्तिबाङ सवस्टेशनबाट प्रसारण सुरु भएको छ । पहिला ३३ केभीमा लाइन आउँदा दैनिक १०–१५ पटक विद्युत् आपुर्तिमा समस्या हुने अवस्था थियो । अहिले १३२ केभी प्रसारण लाइनमा चार्ज भइसकेपछि विद्युत् नियमित भएको र भोल्टेज पनि राम्रो भएको जानकारी पाएको छु । यो भरपर्दो विद्युत् आपूर्तिका लागि सकारात्मक कुरा हो ।’रेसुङ्गा नगरपालिका–७ उनाएचौरस्थित तम्घास सबस्टेसनदेखि ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित बुर्तिबाङ सबस्टेसनसम्म १३२ हजार भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिएको थियो । परीक्षण सफल भएसँगै अब नियमित रूपमा विद्युत् सेवा प्रसारण हुन थालेको छ । यस आयोजना अन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँची हुँदै गुल्मीको उनाएचौर र पौँदी अमराइ मार्फत बागलुङको बुर्तिबाङ सम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ ।
विगत करिब दुई वर्षदेखि १३२ केभी लाइन मार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको भए पनि बुर्तिबाङ खण्ड सञ्चालनमा आएपछि सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएको हो ।आयोजना प्रमुख मनोजप्रसाद चौधरीले यो आयोजना कपिलवस्तुको मोतिपुर देखि बागलुङ जिल्लाको बुर्तिबाङसम्म पाँच ओटा सवस्टेशन रहेको भन्दै यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि गुल्मी र बागलुङ जिल्लामा विद्युत् आपूर्ति थप भरपर्दो, नियमित र गुणस्तरीय बन्नेमा आशावादी रहेको बताए ।‘यो आयोजना अन्तर्गत कपिलवस्तुको मोतिपुर सबस्टेसनबाट अर्घाखाँचीको सन्धिखर्क हुँदै गुल्मीको उनाएचौर र पौँदीअमराइमार्फत बागलुङको बुर्तिबाङसम्म पाँच स्थानमा सबस्टेसन निर्माण गरिएको छ,’ उनले भने, ‘विगत करिब दुई वर्षदेखि १३२ केभी लाइनमार्फत अर्घाखाँची र गुल्मीको उनाएचौर सबस्टेसनबाट विद्युत् वितरण हुँदै आएको थियो । अब बुर्तिबाङ खण्ड सञ्चालनमा आएसँगै सम्पूर्ण संरचना पूर्ण रूपमा कार्यान्वयनमा आएका छन् ।’करिब चार अर्ब ७६ करोड लगानीको यो सवस्टेशन र प्रसारण लाइन निर्माणसँगै कपिलवस्तु, गुल्मी, अर्घाखाँची र बागलुङ लगायतका जिल्लाका बासिन्दालाई सहज विद्युत् सेवा उपलब्धतामा सहयोग पुग्ने अपेक्षा प्राधिकरणले लिएको छ ।

