काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुतलीसडकबाट बागबजार हुँदै रत्नपार्क जाने सडक खण्डको टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण कार्य सुरु गरेको छ। कल्भर्ट निर्माणको काम आउँदो चैत मसान्तभित्र सम्पन्न गर्ने गरी अर्काईभ स्टार निर्माण सेवा प्राइभेट लिमिटेडसँग सम्झौता भएको हो। यो कल्भर्ट सडकतर्फ ५ मिटर र पानी बहाव हुनेतर्फ १४ मिटर लामो हुनेछ। निर्माण कार्य सुरु भएसँगै सो सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
डिल्लीबजार पुतलीसडक चोकबाट बागबजारतर्फ जाने र रामशाह पथ हुँदै पुतलीसडक पुगेर बायाँ मोडिएर बागबजार जाने सवारी साधनका लागि वैकल्पिक मार्गको व्यवस्था मिलाइएको छ। ५७ लाख ७२ हजार ६९४ रुपैयाँको लागतमा निर्माण हुन लागेको यो परियोजनाले सो क्षेत्रमा बर्खायाममा हुने डुबानको समस्या समाधान गर्ने अपेक्षा गरिएको छ।
अहिले त्यहाँ पानीको निकासका लागि अस्थायी रूपमा ह्युम पाइप राखिने तयारी छ। कल्भर्ट निर्माणको क्रममा सो सडक भएर हिँड्ने सर्वसाधारणले जोखिम मोल्नु परेकाले महानगरले अहिले पैदल यात्रीलाई समेत त्यस क्षेत्रमा हिँड्न निषेध गरेको छ। निर्माण कार्यलाई तीव्रता दिँदै तोकिएको समयमै सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको महानगरले जनाएको छ।

