Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सिंहदरबारभित्र इन्टरनेट गुणस्तरीय बनाउन आईडीएमसीलाई सञ्चारमन्त्रीको निर्देशन

सिंहदरबारभित्र इन्टरनेट गुणस्तरीय बनाउन आईडीएमसीलाई सञ्चारमन्त्रीको निर्देशन

आर्थिक पत्र
सोमवार, चैत्र ३० २०८२
  • काठमाडौँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र त्यस वरपरका सरकारी निकायमा इन्टरनेट सेवाको गुणस्तर सुधार्न सरकारले सक्रियता बढाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा.विक्रम तिमिल्सिनाले सरकारी कामकाजमा प्रविधि पूर्वाधार कमजोर हुन नदिन इन्टरनेट सेवालाई थप भरपर्दो, द्रुत र अवरोधरहित बनाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् । एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का प्रमुखसँगको छलफलमा मन्त्री तिमिल्सिनाले सबै सरकारी कार्यालयमा उच्चस्तरीय इन्टरनेट पहुँच सुनिश्चित गर्न जोड दिए । कुनै पनि अवस्थामा सेवा अवरुद्ध हुन नदिन पूर्वतयारी, निगरानी र जोखिम व्यवस्थापनलाई मजबुत बनाउन उनको निर्देशन छ ।

    सम्भावित समस्या समयमै पहिचान गरी तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै मन्त्री तिमिल्सिनाले जिम्मेवारी र जबाफदेहिता बढाउनुपर्ने बताए । साथै, प्राविधिक र मानवीय कमजोरीका कारण इन्टरनेट काटिने समस्या अन्त्य गर्न नेपाल टेलिकममार्फत दक्ष प्राविधिक टोली खटाई तुरुन्त समाधान गर्ने व्यवस्था मिलाउन उनले निर्देशन दिएका छन् । छलफलका क्रममा एकीकृत डाटा व्यवस्थापन केन्द्रका प्रमुख मनिष भट्टराईले हाल सिंहदरबारभित्र नेपाल टेलिकममार्फत १ जिबिपिएस क्षमताको ब्रोडब्यान्ड सेवा र ‘जी–क्लाउड’का लागि थप २५० एमबिपिएस क्षमताको इन्टरनेट सञ्चालनमा रहेको जानकारी दिए । तर, सडक तथा भौतिक पूर्वाधार निर्माणका क्रममा अप्टिकल फाइबरमा क्षति पुग्दा केही कार्यालयमा इन्टरनेट सुस्त हुने र कहिलेकाहीँ सेवा नै विच्छेद हुने समस्या रहेको उनले बताए ।

    यसको दीर्घकालीन समाधानका लागि अप्टिकल फाइबरलाई सुरक्षित रूपमा भूमिगत गरिनुपर्ने आवश्यकता भट्टराईले औंल्याए । पहिले वैकल्पिक प्रणालीमार्फत सेवा निरन्तरता कायम राख्ने ‘इन्टरनेट रिङ’ को व्यवस्था रहेकोमा हाल उक्त प्रणाली कमजोर बनेकाले त्यसलाई पुनः सुदृढ गर्ने प्रयास भइरहेको उनले बताए ।बाह्य इन्टरनेट व्यवस्थापन केन्द्रले हेर्ने भए पनि प्रत्येक कार्यालयभित्रको नेटवर्क र सर्भर व्यवस्थापन सम्बन्धित निकायकै जिम्मा हुने भएकाले हरेक मन्त्रालय तथा निकायमा दक्ष सूचना प्रविधि (आइटी) जनशक्तिको आवश्यकता रहेको भट्टराईले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार