Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

विश्व औषधि बजारमा भारतको दबदबा बढ्दै, सन फार्माद्वारा ११.७५ अर्ब डलरमा अर्गानन खरिद

विश्व औषधि बजारमा भारतको दबदबा बढ्दै, सन फार्माद्वारा ११.७५ अर्ब डलरमा अर्गानन खरिद

आर्थिक पत्र
सोमवार, बैशाख १४ २०८३
  • काठमाडौँ । भारतीय औषधि कम्पनी सन फार्मास्युटिकलले अमेरिकी महिला स्वास्थ्य सेवा कम्पनी अर्गाननलाई ११ अर्ब ७५ करोड डलरमा खरिद गर्ने सहमति जनाएको छ । यसलाई भारतीय औषधि उद्योगको विश्व बजारमा प्रभाव विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ ।

    सोमबार सार्वजनिक संयुक्त विज्ञप्तिअनुसार सन फार्माले अर्गाननका सबै जारी सेयर प्रतिसेयर १४ डलरका दरले पूर्ण नगद कारोबारमार्फत किन्नेछ । दुवै कम्पनीका सञ्चालक समितिबाट स्वीकृत भइसकेको यो सम्झौता आवश्यक नियामक र सेयरधनी अनुमोदनपछि सन् २०२७ को सुरुतिर अन्तिम रूप लिने अपेक्षा गरिएको छ ।

    सन फार्माका अध्यक्ष दिलीप साङ्घवीले अर्गाननको विश्वव्यापी सञ्जाल, उत्पादन पोर्टफोलियो र प्राविधिक क्षमताले कम्पनीको दीर्घकालीन वृद्धि रणनीतिमा टेवा पुग्ने बताए । उनका अनुसार यस अधिग्रहणले कम्पनीलाई अझ विविध र प्रतिस्पर्धी बनाउँदै नयाँ बजारमा विस्तार गर्न सहयोग गर्नेछ ।

    कम्पनीले यस सम्झौतामार्फत ‘इनोभेटिभ मेडिसिन’ क्षेत्रमा आफ्नो उपस्थिति मजबुत बनाउने लक्ष्य लिएको छ । साथै, बायोसिमिलर औषधि क्षेत्रमा प्रवेश गर्दै विश्वका अग्रणी कम्पनीहरूको सूचीमा स्थान बनाउने योजना रहेको जनाएको छ ।

    अर्गाननकी प्रमुख केरी कक्सले पनि यो सम्झौताले आफ्ना सेयरधनीहरूलाई आकर्षक प्रतिफल दिने र कम्पनीको भावी विकासका लागि नयाँ अवसर सिर्जना गर्ने बताइन् ।

    विश्वको ‘फार्मेसी’का रूपमा परिचित भारतबाट हालैका वर्षहरूमा औषधि निर्यात तीव्र रूपमा बढ्दै गएको छ । परम्परागत रूपमा सस्तो जेनेरिक औषधिमा केन्द्रित भारतीय कम्पनीहरू अहिले उच्च मूल्यका नवप्रवर्तनशील उपचारतर्फ उन्मुख भइरहेका छन् ।

    यस परिप्रेक्ष्यमा सन फार्मा–अर्गानन सम्झौता केवल व्यावसायिक कारोबार मात्र नभई भारतीय औषधि उद्योगको बदलिँदो रणनीति र विश्व बजारमा बढ्दो प्रभावको संकेतका रूपमा समेत विश्लेषण गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार