Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ्यो, शेयर बजारमा मिश्रित प्रभाव

ट्रम्पले इरानको प्रस्ताव अस्वीकार गरेपछि तेलको मूल्य बढ्यो, शेयर बजारमा मिश्रित प्रभाव

आर्थिक पत्र
सोमवार, बैशाख २८ २०८३
  • काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अघि सारेको युद्ध अन्त्यसम्बन्धी प्रस्ताव अस्वीकार गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ।विश्लेषकहरूले स्ट्रेट अफ हर्मुज क्षेत्रमा तनाव थप चर्किने र तेल आपूर्तिमा अवरोध आउने जोखिम बढेको बताएका छन् ।

    राष्ट्रपति ट्रम्पले इरानका प्रतिनिधिहरूले दिएको प्रतिक्रियालाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्दै असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले इरानको पछिल्लो प्रस्ताव मन नपरेको बताएका हुन् ।

    इरानका राष्ट्रपति मसुद पेजेस्कियनले भने आइतबार सामाजिक सञ्जाल एक्समा इरान कुनै पनि दबाबसामु नझुक्ने बताएका छन् । उनले वार्ता वा संवादको अर्थ आत्मसमर्पण नभएको उल्लेख गरेका छन् ।

    जापानी बैंक एमयुएफजीका विश्लेषक लोयड चानले ट्रम्पद्वारा प्रस्ताव अस्वीकार गरिनुले अमेरिका र इरानबीचको दूरी अझ स्पष्ट भएको बताएका छन् । उनका अनुसार यसले तत्काल तनाव कम हुने सम्भावना कमजोर बनाएको छ भने हर्मुज क्षेत्रमा थप अवरोध सिर्जना हुन सक्ने संकेत गरेको छ ।

    तनावका बीच एसियाली शेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको निक्केई सूचक ०.४ प्रतिशत र हङकङको ह्याङ सेङ ०.३४ प्रतिशतले घट्दा दक्षिण कोरियाको कोप्सी सूचक भने करिब ४ प्रतिशतले बढेको छ ।

    यसैबीच, जापानी गेमिङ कम्पनी निन्टेन्डोले अपेक्षाभन्दा कम नाफा हुने चेतावनी दिएपछि कम्पनीको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट भने चीन भ्रमणअघि जापान र दक्षिण कोरियाको भ्रमणमा निस्किने भएका छन् । उनले जापानमा प्रधानमन्त्री साने ताकाइचीसँग भेटवार्ता गर्ने कार्यक्रम छ भने दक्षिण कोरियामा चिनियाँ उपप्रधानमन्त्री हे लिफेङसँग छलफल गर्ने तयारी रहेको जनाइएको छ ।

    बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत ‘आर्थिक सुरक्षा नै राष्ट्रिय सुरक्षा’ भएको टिप्पणी गरेका छन् ।

    अमेरिका र चीनबीच पछिल्लो समय व्यापार तथा निर्यात करलाई लिएर विवाद बढ्दै गएको छ । दुवै देशले एकअर्काका उत्पादनमा उच्च कर लगाउँदै आएका छन् भने गत वर्ष दक्षिण कोरियामा भएको भेटमा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच व्यापार युद्ध अस्थायी रूपमा रोक्ने सहमति भएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार