भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ ।
सरकारले वैशाख २९ गतेभित्र नतिजा सार्वजनिक गर्न दिएको समयसीमाअनुसार बोर्डले तीव्र रूपमा अन्तिम तयारी गरिरहेको हो ।
कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार परीक्षार्थीको प्राप्ताङ्क कम्प्युटरमा इन्ट्री गर्ने काम सकिएको छ भने अहिले अन्तिम रुजु गर्ने प्रक्रिया चलिरहेको छ। कुनै प्राविधिक समस्या नआए मंगलबार नतिजा सार्वजनिक गर्ने तयारी रहेको उनले बताए ।
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि देशभरका १ हजार ९६६ परीक्षा केन्द्रमा सञ्चालन भएको थियो । परीक्षामा ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी भएका थिए भने जापानको एक केन्द्रबाट थप २३ विद्यार्थीले परीक्षा दिएका थिए ।
परीक्षा चैत २९ गते सम्पन्न भएको थियो । यसअघि नतिजा सार्वजनिक हुन करिब तीन महिना लाग्ने गरेकोमा यस वर्ष शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको थियो । सोहीअनुसार उत्तरपुस्तिका परीक्षण पनि परीक्षा सकिएको तीन दिनभित्र सुरु गरिएको बोर्डले जनाएको छ ।
बोर्डले नतिजा हेर्ने वैकल्पिक माध्यमहरू पनि सार्वजनिक गरेको छ । विद्यार्थीहरूले एसएमएस, आइभीआर, युएसएसडी, वेबसाइट तथा मोबाइल सेवा प्रयोग गरेर नतिजा हेर्न सक्नेछन् ।
नतिजा हेर्नका लागि परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड www.neb.gov.np तथा नेपाल टेलिकमको www.see.ntc.net.np प्रयोग गर्न सकिनेछ । साथै नेपाल टेलिकमको १६०० नम्बरबाट पनि नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ ।

