Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

डाटा र भ्वाइस सेवाको आम्दानी बढ्दा नेपाल टेलिकमको नाफामा सुधार

डाटा र भ्वाइस सेवाको आम्दानी बढ्दा नेपाल टेलिकमको नाफामा सुधार

आर्थिक पत्र
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिकसम्म खुद नाफा र सञ्चालन आम्दानी दुवैमा वृद्धि गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार चैत मसान्तसम्म टेलिकमले ६ अर्ब २७ करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ करोड २४ लाख रुपैयाँ अर्थात् ९.८५ प्रतिशत बढी हो । गत वर्ष यही अवधिमा कम्पनीको खुद नाफा ५ अर्ब ७१ करोड ५ लाख रुपैयाँ रहेको थियो ।

    कम्पनीको सञ्चालन आम्दानी पनि बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्म टेलिकमको सञ्चालन आय २५ अर्ब ९२ करोड ९६ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा ६१ करोड २० लाख रुपैयाँ अर्थात् २.४२ प्रतिशत बढी हो ।

    यस अवधिमा कम्पनीको कुल आम्दानी २८ अर्ब ८५ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा कुल आम्दानी २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ थियो ।

    नेपाल टेलिकमका अनुसार डाटा तथा भ्वाइस सेवाबाट हुने जीएसएम आम्दानी बढेका कारण सञ्चालन आयमा सुधार आएको हो । जीएसएम सेवाबाट प्राप्त राजस्व गत वर्षको तुलनामा ५७ करोड ७४ लाख रुपैयाँ अर्थात् २.७६ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।

    त्यस्तै, ह्रासकट्टी खर्च घट्दा पनि नाफामा सकारात्मक प्रभाव परेको छ । वित्तीय विवरणअनुसार ह्रासकट्टी खर्च गत वर्षको तुलनामा ३८ करोड ६९ लाख रुपैयाँ अर्थात् ८.४६ प्रतिशतले घटेको छ ।

    यद्यपि बैंकहरूको ब्याजदर घट्दै जाँदा कम्पनीको ब्याज आम्दानीमा भने कमी आएको छ। टेलिकमका अनुसार ब्याज आम्दानी गत वर्षको तुलनामा ५७ करोड ६६ लाख रुपैयाँ अर्थात् २०.५७ प्रतिशतले घटेको छ ।

    कम्पनीको ईबिट्डा (ईबिआइटिडिए) अर्थात् ब्याज, कर र ह्रासकट्टी अघिको मुनाफा १४ अर्ब ३८ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा १८ करोड ८० लाख रुपैयाँ बढी हो ।

    कम्पनीको प्रतिशेयर आम्दानी पनि सुधारिएको छ । गत वर्ष ४२ रुपैयाँ ३० पैसा रहेको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर ४६ रुपैयाँ ४७ पैसा पुगेको टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार