काठमाडौं । सीजी मोटोकर्पले सुजुकीको पहिलो पूर्ण रूपमा निर्मित (CBU) ब्याट्री–सञ्चालित विद्युतीय सवारी (BEV) ‘ई–भिटारा’ को नेपालभर औपचारिक डेलिभरी सुरु गरेको छ ।
कम्पनीका अनुसार यो मोडल नेपाली बजारमा सुजुकीको पहिलो पूर्ण इलेक्ट्रिक एसयूभीका रूपमा महत्वपूर्ण उपलब्धि हो। विश्वसनीय जापानी इन्जिनियरिङ, आधुनिक विद्युतीय प्रविधि र दैनिक प्रयोगमैत्री सुविधासहित ई–भिटाराले ग्राहकबाट उत्साहजनक प्रतिक्रिया पाएको कम्पनीले जनाएको छ ।
बुकिङ गरिएका युनिटहरूको डेलिभरी देशभरका सुजुकी डिलर नेटवर्कमार्फत भइरहेको छ । लन्च अफरअन्तर्गत यसको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
सीजी मोटोकर्पले नेपालभर रहेका २५ बिक्री केन्द्र र ४० सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा प्रदान गरिने जनाएको छ । कम्पनीका अनुसार प्रशिक्षित प्राविधिक जनशक्ति, स्पेयर पार्ट्सको उपलब्धता र विद्युतीय सवारीसम्बन्धी सेवा क्षमताले ग्राहकलाई सहज स्वामित्व अनुभव दिनेछ ।
कम्पनीले सुजुकीको दशकौँ लामो ब्रान्ड विश्वास, देशव्यापी सर्भिस नेटवर्क र बिक्रीपछिको बलियो समर्थनका कारण ई–भिटाराले नेपाली बजारमा प्रतिस्पर्धात्मक लाभ लिने अपेक्षा गरेको छ ।
ई–भिटारामा ६१ kWh र ४९ kWh ब्याट्री विकल्प उपलब्ध छन्, जसले क्रमशः १२८ kW र १०९ kW पावर आउटपुट दिन्छ । यसले दैनिक प्रयोगदेखि लामो दूरी यात्रासम्मका लागि उपयुक्त प्रदर्शन दिने कम्पनीको दाबी छ ।
भित्रको डिजाइनमा १०.१ इन्च इन्फोटेन्मेन्ट डिस्प्ले, डिजिटल क्लस्टर, वायरलेस चार्जिङ, कनेक्टिभिटी सुविधा, र आरामदायी सिट व्यवस्था समावेश गरिएको छ ।
सुरक्षाका लागि ई–भिटारामा एड्भान्स्ड ड्राइभर असिस्ट सिस्टम (ADAS), मल्टिपल एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, हिल–असिस्ट र अन्य आधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ ।
कम्पनीले नेपालमा विद्युतीय सवारीको माग बढ्दै गएको सन्दर्भमा ई–भिटाराले विश्वसनीय र व्यावहारिक विकल्प दिने विश्वास व्यक्त गरेको छ ।

