काठमाडौं । नेपालमा विभिन्न मुलुकबाट चालु आर्थिक वर्ष २०८२-०८३ को वैशाखसम्ममा ८ हजार ६०७ वटाविद्युतीय सवारी (ईभी) भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार २ वटा अन–एसेम्बल गरिएको गाडीसहित २० अर्ब ३२ करोड ५९ लाख ८८ हजार रुपियाँको उक्त ईभी गाडी आएका हुन् । चालु आवको १० महिनामा विभिन्न भन्सार नाका हुँदै उक्त मूल्य बराबरको गाडी आउँदा सरकारलाई १२ अर्ब ४३ करोड ३७ लाख ३६ हजार रुपियाँ राजश्व प्राप्त भएको छ । कार सेग्मेन्टमा यतिका गाडी भित्रिदा नेपालमा ईभीको बजार मौलाउँदै गएको प्रष्ट हुन्छ ।
नेपालमा ईभीप्रति आकर्षण र प्रयोगमा रफ्तार देखिँदा आयातमा पनि उल्लेखनीय वृद्धि भएको हो । चालु आवको वैशाखसम्म ५० किलोवाटको अन–एसेम्बल गरिएको २ वटा ईभी गाडी आएको भन्सार विभागले जानकारी दिएको छ । यस्तै, ५० किलोवाटका २८ सय ४८ वटा, ५१ देखि १०० किलोवाटका ५ हजार २५ वटा, १०१ देखि २०० किलोवाटसम्मको ७२३ वटा र २०१ देखि ३०० किलोवाट क्षमता सम्मको ९ वटा ईभी गाडी आएका छन् । ५१ देखि १०० किलोवाटका ईभी गाडी अहिलेसम्म सबै भन्दा धेरै भित्रिएका छन् । यस्तै, तीन पाङ्ग्रे ईभी पनि उच्च दरमा भित्री रहेको पाइन्छ । वैशाखसम्ममा मात्रै ८९ करोड ४५ लाख ३० हजार रुपियाँको ७ हजार ७८५ वटा तीन पाङ्ग्रे ईभी भित्रिएको तथ्याङ्कमा उल्लेख छ । अन–एसेम्बल ९३ करोड ६६ लाख १४ हजार रुपियाँको तीन पाङ्ग्रे ९ हजार ११ वटा भित्रिएका छन् । पेट्रोल डिजेलको तुलनामा बिजुली सस्तोमा उपलब्ध हुँदा पनि बिजुली गाडीको नेपालमा लोकप्रियता बढ्दै गएको हो । नेपालमा ईभी प्रयोगको बढ्दो क्रममा कार सेग्मेन्टमा मात्रै नभई हरेक सेग्मेन्टका सवारीको आयातमा ईभीको वर्चस्व देखिन्छ । प्रयोगकर्ताको रोजाइ र ईभीलाई लिएर बढ्दै गएको विश्वासले आयात उच्च भएको छ ।
पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ईभी प्रतिको आकर्षणलाई बढाइरहेको छ । यद्यपि यातायात यातायात व्यवस्था विभागले अहिले तत्कालीन अवस्थामा सार्वजनिक सवारी साधनको नयाँ दर्ता नगर्ने निर्णय गरेसँगै अटो बजारमा यस विषयलाई लिएर टिकाटिप्पणी समेत भइरहेको छ ।

