Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

डब्लुएचओ प्रमुखको कंगो भ्रमण: ‘प्रतिबन्धले इबोला नियन्त्रण कठिन’

डब्लुएचओ प्रमुखको कंगो भ्रमण: ‘प्रतिबन्धले इबोला नियन्त्रण कठिन’

आर्थिक पत्र
आइतवार, जेठ १७ २०८३
  • बुनिया। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले डेमोक्रेटिक रिपब्लिक अफ कंगो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई लिएर केही देशहरूले लगाएको यात्रा प्रतिबन्ध तथा सीमा बन्दीमा पुनर्विचार गर्न आग्रह गरेका छन्।

    कंगोको उत्तरपूर्वी इटुरी प्रान्तको राजधानी बुनियामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक टेड्रोसले यस्ता प्रतिबन्धहरूले रोग नियन्त्रणका प्रयासलाई झन् कठिन बनाउने तथा देशहरूबीचको पारदर्शिता र विश्वासलाई समेत कमजोर पार्ने उल्लेख गरे।

    विश्वास र पारदर्शिता नै जीवन बचाउने मुख्य आधार भएको स्पष्ट पार्दै उनले हाल लगाइएका प्रतिबन्धहरूको पुनः मूल्यांकन हुनुपर्नेमा जोड दिए। इबोलाका लागि पूर्ण रूपमा मान्यता प्राप्त खोप वा विशेष औषधि सीमित मात्रामा उपलब्ध भए तापनि समयमै गुणस्तरीय उपचार पाउन सके धेरै बिरामीहरू निको हुने सम्भावना रहने उनको भनाइ थियो।

    महानिर्देशक टेड्रोसले हालसम्म एक हजारभन्दा बढी शंकास्पद केसहरू रिपोर्ट गरिएको बुनिया क्षेत्रको भ्रमण गर्नुको मुख्य उद्देश्य प्रभावित समुदायसँग प्रत्यक्ष संवाद गर्नु रहेको पनि जानकारी दिए। यसैबीच कंगोसँगै छिमेकी देश युगान्डामा पनि इबोलाका नयाँ सङ्क्रमणहरू पुष्टि भएका छन्।

    युगान्डाको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी कम्पालामा दुई नयाँ सङ्क्रमित फेला परेसँगै त्यहाँ कुल पुष्टि भएका केसहरूको सङ्ख्या नौ पुगेको छ। प्रकोपको चपेटामा परेको कंगोका स्वास्थ्यमन्त्री रोजर काम्बाले आगामी चारदेखि छ महिनाभित्र देशमा इबोला पूर्ण रूपमा नियन्त्रण गर्ने लक्ष्य राखिएको बताए।

    उनका अनुसार सरकारको मुख्य प्राथमिकता अहिले इबोला सङ्क्रमणलाई बढी प्रभावित बनेका इटुरी, उत्तर किभु र दक्षिण किभु गरी तीन प्रान्तमै सीमित राखेर नियन्त्रण गर्नु हो।

    कङ्गोमा हाल परीक्षण क्षमतामा व्यापक सुधार गरिएको र प्रयोगशालामा कुनै पनि नमुना परीक्षणमा ढिलाइ नहुने स्थिति सिर्जना गरिएको स्वास्थ्यमन्त्री काम्बाले दाबी गरे।

    हालसम्म करिब नौ सय नमुनाहरू परीक्षण गरिएकोमा दुई सय साठी वटामा सकारात्मक (पोजेटिभ) नतिजा देखिएको जानकारी दिँदै उनले अहिले देशको प्रयोगशालामा दैनिक दुई सय देखि तीन सय वटासम्म नमुना परीक्षण गर्न सक्ने क्षमता विकास भइसकेको बताए।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार