काठमाडौं। हिमालय एयरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै काठमाडौँ–शेन्जेन–काठमाडौँ सिधा उडान सेवा सञ्चालन गर्ने भएको छ।
कम्पनीले जेठ २१ गतेदेखि चीनको प्रविधि तथा आर्थिक केन्द्रका रूपमा परिचित शेन्जेनसँग काठमाडौंलाई प्रत्यक्ष हवाई सेवामार्फत जोड्न लागेको हो। नयाँ सेवाअन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र शेन्जेन बाओआन अन्तर्राष्ट्रिय विमानस्थलबीच सातामा दुई उडान सञ्चालन गरिने कम्पनीले जनाएको छ।
हिमालय एयरलाइन्सका अनुसार काठमाडौंबाट शेन्जेनका लागि प्रत्येक मङ्गलबार र बिहीबार उडान हुनेछ भने शेन्जेनबाट काठमाडौंका लागि बुधबार र शुक्रबार उडान सञ्चालन हुनेछ।
कम्पनीले नयाँ गन्तव्य थपिनु आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तारको रणनीतिक उपलब्धि भएको जनाएको छ। यात्रुको मागका आधारमा आगामी दिनमा उडान संख्या बढाउने योजना पनि कम्पनीको छ।
हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले नयाँ उडानले नेपाल र चीनबीचको हवाई सम्पर्कलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे। उनका अनुसार यसले दुई देशबीच पर्यटन, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा योगदान पुर्याउनेछ।
‘चीनका विभिन्न सहरसँग नेपाललाई जोड्ने हाम्रो प्रयास निरन्तर छ। शेन्जेन उडानले दुई देशबीचको आर्थिक र सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेका छौं,’ उनले भने।
चीनको ‘सिलिकन भ्याली’ का रूपमा चिनिने शेन्जेन विश्वकै प्रमुख प्रविधि, उत्पादन र नवप्रवर्तन केन्द्रमध्ये एक मानिन्छ। प्रत्यक्ष हवाई सेवाले व्यापारिक यात्रु, पर्यटक, विद्यार्थी तथा लगानीकर्तालाई सहज आवागमनको सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।
हिमालय एयरलाइन्सले सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउँदै नयाँ उडानमार्फत नेपाल–चीन पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यलाई थप गति मिल्ने अपेक्षा गरेको छ।

