Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नेपालमा सेवा विस्तार गर्न स्टारलिंकको चासो: सञ्चार मन्त्री डा. तिमिल्सिना र निर्देशक हन्टरबीच मन्त्रालयमा भेटवार्ता

नेपालमा सेवा विस्तार गर्न स्टारलिंकको चासो: सञ्चार मन्त्री डा. तिमिल्सिना र निर्देशक हन्टरबीच मन्त्रालयमा भेटवार्ता

आर्थिक पत्र
बुधवार, जेठ २० २०८३
  • काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिना र स्याटेलाइट प्रविधिमा आधारित विश्वप्रसिद्ध इन्टरनेट सेवा प्रदायक कम्पनी ‘स्टारलिंक’ की निर्देशक रेबिका हन्टरबीच मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता भएको छ।

    मन्त्रालयमा मंगलबार भएको उक्त भेटघाटमा नेपालको दूरसञ्चार क्षेत्र, अत्याधुनिक प्रविधिको विस्तार र दुई पक्षीय हितका विविध विषयमा छलफल भएको हो। भेटका क्रममा निर्देशक हन्टरले स्टारलिंकले नेपालमा आफ्नो गुणस्तरीय स्याटेलाइट इन्टरनेट सेवा सञ्चालनका लागि अनुमति लिन चाहेको तर यहाँका केही विद्यमान नीतिगत तथा कानुनी जटिलताका कारण प्रक्रिया अगाडि बढ्न नसकेको तर्फ मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन्।

    विशेष गरी अनुमति पत्र (लाइसेन्स) मा शतप्रतिशत स्टारलिंककै स्वामित्व रहने व्यवस्था भएमा मात्र आफूहरूले सेवा सुरु गर्न सक्ने धारणा राख्दै उहाँले व्यावसायिक साझेदारी तथा सहकार्यका लागि नेपालका केही स्थानीय सेवा प्रदायकहरूसँग समेत प्रारम्भिक छलफल भइरहेको जानकारी दिइन्।

    कम्पनीका तर्फबाट राखिएका जिज्ञासा र चासोका विषयमा बोल्दै सञ्चार मन्त्री डा. तिमिल्सिनाले नेपालको विद्यमान दूरसञ्चार नीति, ऐन तथा कानुनी व्यवस्थाअनुसार वैधानिक प्रक्रिया पूरा गरेर आउने जुनसुकै अन्तर्राष्ट्रिय कम्पनीलाई यहाँ सेवा सञ्चालन गर्न कुनै अवरोध नहुने स्पष्ट पारे।

    उनले सरकार नेपालमा सूचना प्रविधिको विकास र दुर्गम क्षेत्रसम्म डिजिटल पहुँच पुर्‍याउन सकारात्मक रहेको उल्लेख गर्दै विदेशी लगानी र प्रविधिलाई भित्र्याउन प्रचलित कानुनको परिधिभित्र रहेर आवश्यक सहजीकरण गर्न तयार रहेको कुरामा जोड दिए।

    विश्व प्रसिद्ध डलर अर्बपति इलन मस्कको कम्पनी ‘स्पेसएक्स’ अन्तर्गतको स्टारलिंकले नेपालका ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रहरूमा तीव्र गतिको इन्टरनेट पुर्‍याउन चासो देखाइरहेका बेला सरकारी नेतृत्व र कम्पनीका उच्च अधिकारीबीच भएको यस भेटलाई नेपालको दूरसञ्चार बजारमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार