Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

रसुवागढी जलविद्युत आयोजना २२ दिन बन्द गरिने

रसुवागढी जलविद्युत आयोजना २२ दिन बन्द गरिने

आर्थिक पत्र
शुक्रवार, जेठ २२ २०८३
  • काठमाडौं । १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना आगामी वर्षायामअघि आवश्यक पुनर्स्थापना तथा पुनर्निर्माण कार्य सम्पन्न गर्न केही समयका लागि बन्द गरिने भएको छ।

    रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजनाका संरचना तथा उपकरणमा गत वर्ष आएको हिमबाढीले पुर्‍याएको क्षतिपछि थप मर्मत तथा सुदृढीकरण कार्य आवश्यक रहेकाले विद्युत उत्पादन अस्थायी रूपमा रोक्न लागिएको जनाएको छ।

    कम्पनीका अनुसार २०८२ साल असार २४ गते आएको ठूलो हिमबाढीका कारण आयोजनाको विभिन्न संरचना तथा विद्युत उत्पादनसँग सम्बन्धित मेसिनरीमा उल्लेखनीय क्षति पुगेको थियो। उक्त घटनापछि आपतकालीन व्यवस्थापनअन्तर्गत क्षतिग्रस्त भागहरूको मर्मत तथा पुनर्स्थापना कार्य अगाडि बढाइएको थियो। हाल आयोजनाका तीनवटै उत्पादन युनिट सञ्चालनमा आएर विद्युत उत्पादन भइरहेको कम्पनीले जनाएको छ।

    यद्यपि आगामी मनसुन अवधिमा आयोजनाले पूर्ण क्षमतामा सुरक्षित र भरपर्दो रूपमा विद्युत उत्पादन गर्न सक्ने अवस्था सुनिश्चित गर्न थप प्राविधिक सुधार तथा पुनर्निर्माणका कामहरू सम्पन्न गर्नुपर्ने आवश्यकता रहेको कम्पनीको भनाइ छ।

    यसका लागि कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग निश्चित अवधिका लागि उत्पादन बन्द गरी आवश्यक काम सम्पन्न गर्ने अनुमति मागेको थियो। प्राधिकरणबाट स्वीकृति प्राप्त भएसँगै पूर्वनिर्धारित कार्यतालिका अनुसार आयोजनाको विद्युत उत्पादन केही समयका लागि स्थगित गरिने भएको हो।

    स्वीकृत कार्यक्रमअनुसार आयोजना २०८३ साल जेठ २२ गतेदेखि असार १३ गतेसम्म कुल २२ दिन बन्द रहनेछ। यस अवधिमा संरचनागत सुधार, उपकरण मर्मत तथा दीर्घकालीन सञ्चालनलाई प्रभावकारी बनाउने विभिन्न प्राविधिक कार्यहरू सम्पन्न गरिने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार