Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

तीन वर्षमा सकिनुपर्ने सेती पुल अझै ६१ प्रतिशतमा, दोस्रोपटक थपियो म्याद

तीन वर्षमा सकिनुपर्ने सेती पुल अझै ६१ प्रतिशतमा, दोस्रोपटक थपियो म्याद

आर्थिक पत्र
बिहिवार, जेठ २८ २०८३
  • काठमाडौं। पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्ड अन्तर्गत निर्माणाधीन यस पुलको म्याद वि.सं २०८३ फागुन २१ गतेसम्म पुर्याइएको हो ।

    सेतीको हालको पुलको ‘अपस्ट्रिम’ र ‘डाउनस्ट्रिम’ १९० मिटरका दुईवटा पक्की पुल १ अर्ब ७ करोड रूपैयाँ लागतमा निर्माण गर्नका लागि वि.सं २०७९ भदौ २६ गते ठेक्का सम्झौता गरिएको थियो ।

    एसियाली विकास बैङ्कको ऋण सहयोगमा सडक विभाग अन्तर्गत निर्माण भइरहेको पुल तीन वर्षभित्रमा सम्पन्न गर्ने गरी एम/एस रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिसँग सम्झौता भए पनि काम नसकिएपछि गत भदौमा पहिलोपटक म्याद थप गरिएको थियो ।

    हालसम्म पुलको ६१ प्रतिशत हाराहारीमा भौतिक प्रगति भएको मुग्लिन पोखरा सडक आयोजना पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले बताए । उनका अनुसार अब निर्माण कार्यका लागि कुनै अवरोध नभएकाले निर्माण कम्पनीले तीव्रताका साथ काम गरेर तोकिएको म्यादभित्र सम्पन्न हुनेछ ।

    सेती नदीको उत्तर साइडमा कारावास लगायत जग्गाधनी तथा व्यवसायीलाई सडकबाट एसियाली विकास बैङ्कको नीतिअनुसार सडक पहुँच दिनुपर्ने कारणले दुई वटा घर भत्काउनु परेको थियो । तर, जग्गाधनीको मागअनुसार यसको क्षतिपूर्ति र मुआब्जा दिनुपर्ने लगायत विषयमा सहमति नहुँदा ढिलाइ भएको बताइन्छ । पछिल्लो समय दुई जना जग्गाधनी केदार पौडेल र माधव पौडेलले समेत मुआब्जा बुझेको र असार पहिलो साताभित्रमा संरचना खाली गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख कुँवरले बताए ।

    निर्माण कम्पनीले चीनबाट सामान ल्याउन ढिलाइ भएको तथा खानेपानी पाइप स्थानान्तरणलगायत समस्या देखाउँदै ढिलाइ गरेपछि काममा विलम्ब भएको थियो ।

    ‘जग्गाधनीले मुआब्जामा चित्त नबुझेको भन्दै प्रशासनले निर्धारण गरेको रकम बुझ्न मान्नुभएको थिएन, जसका कारणले समेत काममा अवरोध भयो । केही दिनअघि उहाँहरूले मुआब्जा लिनुभएको छ । अब साइडमा कुनै पनि समस्या छैन, काम रोकिने अवस्था आउँदैन,’ कुँवरले भने । 

    सेती पुलको हालसम्म १२० पाइल फाउण्डेसन सकिएको, पाइल क्याप तथा चार वटा टावरको काम सकिएको छ । यसैगरी, एउटा पुलमा गर्डर र क्रस गर्डरको काम सकिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार