काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले प्रस्तावित नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐन, यातायात प्राधिकरण गठन प्रक्रिया र सवारी कर प्रणालीबारे सरकारसँग स्पष्टता माग गरेको छ।पूर्वाधार विकास मन्त्रालयसँग भएको छलफलमा नाडाले लामो समयदेखि छलफलकै चरणमा रहेको नयाँ ऐन कहिले र कसरी कार्यान्वयनमा आउने भन्नेबारे स्पष्ट जानकारी आवश्यक रहेको बताएको छ। साथै, यातायात प्रणाली सुधारका लागि गठन गर्न लागिएको यातायात प्राधिकरणमा निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि गरिएको छ।
नाडाले अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीतिगत सुधारका विषयमा सरकारसँग छलफल गर्दै स्पष्ट नीति र कार्यान्वयन ढाँचा आवश्यक रहेको जनाएको हो।छलफलका क्रममा प्रस्तावित नयाँ मोटर वाहन तथा यातायात व्यवस्थापन ऐनको वर्तमान अवस्था, कार्यान्वयन समयसीमा तथा नाडाको भूमिकाबारे स्पष्टता हुनुपर्ने विषय उठाइएको थियो।त्यसैगरी, सरकारले गठन गर्ने भनिएको यातायात प्राधिकरणमा निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्न नाडाले माग गरेको छ। अटोमोबाइल क्षेत्रको नीति निर्माण र कार्यान्वयनमा निजी क्षेत्रको सहभागिता प्रभावकारी हुनुपर्ने उसको धारणा छ।
सवारी कर प्रणालीबारे पनि छलफलमा प्रस्ताव अघि सारिएको थियो। नाडाले सवारी कर नयाँ सवारी साधन बिक्री भएपछि मात्र लागू हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ। यसले व्यवसायिक प्रक्रियामा पारदर्शिता बढाउने र उद्योग–व्यापारमैत्री वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।नाडाका अनुसार नीतिगत अस्पष्टता, कार्यान्वयन ढिलाइ र संरचनागत अन्योलका कारण अटोमोबाइल क्षेत्र प्रभावित हुँदै आएको छ। त्यसैले दीर्घकालीन स्थायित्वका लागि स्पष्ट कानुनी तथा प्रशासनिक ढाँचा आवश्यक रहेको उसले जोड दिएको छ।

