टोकियो । जापान र दक्षिण कोरियाका सेयर बजारले बिहीबार ऐतिहासिक कीर्तिमान कायम गरेका छन्। कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रप्रतिको लगानीकर्ताको बढ्दो आकर्षण, अमेरिका–इरान शान्ति सम्झौताप्रतिको आशावाद तथा जापानको मौद्रिक नीतिप्रतिको विश्वासका कारण दुवै देशका प्रमुख सूचक नयाँ उचाइमा पुगेका हुन्।
जापानको प्रमुख सेयर सूचक निक्केई स्टक एभरेज १ हजार १५१.२४ अंक अर्थात् १.६५ प्रतिशतले बढेर ७१ हजार ५३.४९ विन्दुमा बन्द भएको छ। निक्केई इतिहासमै पहिलोपटक ७० हजार विन्दुमाथि बन्द भएको हो। यससँगै चालु वर्षको सुरुदेखि हालसम्म निक्केईमा करिब ४१ प्रतिशत वृद्धि भएको छ।
त्यस्तै, दक्षिण कोरियाको कोस्पी सूचक पनि पहिलोपटक कारोबारका क्रममा ९ हजार विन्दु नाघेको छ। दिनको अन्त्यमा कोस्पी २.३ प्रतिशतले बढेर ९ हजार ६३.८४ विन्दुमा बन्द भएको छ। यस वर्ष हालसम्म कोस्पीमा दोब्बरभन्दा बढी अर्थात् करिब ११५ प्रतिशत वृद्धि भएको छ।
ताइवानको ताइएक्स सूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ। ताइवानको सेयर बजार यस वर्ष हालसम्म करिब ६० प्रतिशतले उकालो लागेको छ।
विश्लेषकहरूका अनुसार एआई प्रविधिसम्बन्धी कम्पनीहरूको तीव्र वृद्धि, विश्व अर्थतन्त्रप्रतिको सकारात्मक अपेक्षा र भू–राजनीतिक तनाव कम हुने संकेतले एसियाली बजारमा लगानीकर्ताको आत्मविश्वास बढाएको छ। विशेषगरी सेमिकन्डक्टर, प्रविधि तथा एआईसँग सम्बन्धित कम्पनीहरूको सेयरमा उच्च माग देखिएको छ।
बजार विश्लेषकहरूले एआई प्रविधिमा हुने लगानी विस्तार र अन्तर्राष्ट्रिय राजनीतिक वातावरण स्थिर रहिरहे एसियाली सेयर बजारमा सकारात्मक गति कायम रहने अपेक्षा गरेका छन्।

