काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ११ महिनाको अवधिमा नेपालमा २५ अर्ब ५५ करोड ९९ लाख १६ हजार रुपैयाँ बराबरका कुल १० हजार ८४५ वटा विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्।
भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपाली बजारमा विद्युतीय सवारीसाधनको आकर्षण तीव्र रूपमा बढ्दै गएको यस आँकडाले देखाउँछ । यस अवधिमा नेपालमा ५० किलोवाटदेखि लिएर २०१ किलोवाट क्षमतासम्मका विभिन्न ब्रान्ड र ढाँचाका विद्युतीय गाडीहरू भित्रिएका हुन्।
विभागका अनुसार आयात भएका गाडीहरूमध्ये ५० किलोवाट क्षमतासम्मका साना सवारीसाधनको सङ्ख्या तीन हजार ६८० रहेको छ, जसको आयात मूल्य पाँच अर्ब ६५ करोड रुपैयाँ बराबर रहेको छ।
यसैगरी, नेपाली बजारमा सबैभन्दा बढी माग देखिएको ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधन ६ हजार ३५७ वटा भित्रिएका छन्।
यी मध्यम क्षमताका गाडीहरूको आयातका लागि मात्रै १६ अर्ब ४९ करोड ७९ लाख ४६ हजार रुपैयाँ बाहिरिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ। पछिल्लो समय पर्यावरणमैत्री र इन्धनको बचत हुने भएकाले उपभोक्ता र व्यवसायी दुवैको रोजाइमा विद्युतीय सवारीसाधन पर्न थालेका छन्

