काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित हवाई सेवा प्रदायक फ्लाईदुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक सिधा उडान सञ्चालन गर्ने घोषणा गरेको छ । एयरलाइन्सले आगामी सेप्टेम्बर २३ देखि उडान सुरु गर्नेछ । यससँगै फ्लाईदुबई पोखरामा सिधा उडान गर्ने पहिलो यूएई-आधारित एयरलाइन्स बनेको छ ।
कम्पनीले सन् २००९ देखि काठमाडौंमा सेवा सञ्चालन गर्दै आएको छ र हालसम्म करिब ४० लाख यात्रुलाई नेपाल आवागमन गराइसकेको जनाएको छ । फ्लाईदुबईका प्रमुख कार्यकारी अधिकृत घैथ अल घैथले नेपाल कम्पनीका लागि अत्यन्त महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरासम्मको प्रत्यक्ष उडानले यूएई र नेपालबीच व्यापार तथा पर्यटन प्रवर्द्धनमा थप योगदान पुर्याउने बताए । “काठमाडौंपछि नेपालको दोस्रो ठूलो सहर पोखरासम्म सिधा हवाई पहुँच विस्तार गर्नु हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रमाण हो,” उनले भने।
कम्पनीका अनुसार नेपालमा सञ्चालन सुरु गरेयता यात्रुको मागअनुसार सेवा विस्तार हुँदै आएको छ । हाल उच्च यात्रु चापका बेला काठमाडौंमा दैनिक पाँचवटासम्म उडान सञ्चालन गरिँदै आएको छ।
फ्लाईदुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधिर श्रीधरनले पोखरा उडानले यात्रुहरूलाई थप सुविधा र विकल्प प्रदान गर्ने बताए । उनका अनुसार यो रुटले यूएई, खाडी मुलुक, मध्यपूर्व, युरोप तथा फ्लाईदुबईको विश्वव्यापी सञ्जालबाट आउने यात्रुहरूलाई सहज पहुँच उपलब्ध गराउनेछ।
अन्नपूर्ण हिमशृंखलाको काखमा रहेको पोखरा नेपालको प्रमुख साहसिक तथा मनोरञ्जन पर्यटन केन्द्रका रूपमा परिचित छ। नयाँ अन्तर्राष्ट्रिय उडान सेवाले पश्चिम नेपालको पर्यटन, ट्रेकिङ, इको-टुरिज्म तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
फ्लाईदुबई र एमिरेट्सबीचको कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुने यस सेवाबाट यात्रुले एउटै टिकट, सामानको सहज चेक-इन तथा दुवै कम्पनीको विस्तृत नेटवर्कको सुविधा पाउनेछन्।
उडान तालिका
• FZ1165 : दुबई (DXB) बाट दिउँसो १२:०० बजे प्रस्थान, पोखरा (PHH) मा साँझ ६:१५ बजे आगमन।
• FZ1166 : पोखराबाट साँझ ७:१५ बजे प्रस्थान, दुबईमा राति १०:०० बजे आगमन।
कम्पनीका अनुसार दुबई–पोखरा–दुबई रुटमा बिजनेस क्लासको दुईतर्फी भाडा ५ हजार दिरहमबाट सुरु हुनेछ भने इकोनोमी क्लास लाइटको भाडा १ हजार ९०० दिरहमबाट उपलब्ध हुनेछ ।
पोखराबाट दुबईका लागि बिजनेस क्लासको न्यूनतम भाडा १ लाख ९० हजार रुपैयाँ तथा इकोनोमी क्लास लाइटको भाडा ९१ हजार रुपैयाँ तोकिएको छ। उक्त उडानका टिकट फ्लाईदुबईको वेबसाइट, मोबाइल एप, सम्पर्क केन्द्र तथा आधिकारिक ट्राभल एजेन्टमार्फत बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।

