दमौली (तनहुँ) । मार्कीचोक–भरतपुर खण्डअन्तर्गत निर्माण सम्पन्न २२० केभी प्रसारण लाइनमा असार २३ गतेदेखि विद्युत् परीक्षण सेवा सुरु हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत उक्त खण्डमा परीक्षणका रूपमा उच्च भोल्टेज विद्युत् प्रवाह सुरु गर्न लागेको हो। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असार २३ गते (मंगलबार) देखि २२० किलो भोल्ट क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ।
युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको यो प्रसारण लाइन राष्ट्रिय प्रसारण प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण आयोजना मानिएको छ।
आयोजना प्रमुख नारायण रेग्मीका अनुसार तनहुँको मार्कीचोकस्थित न्यू मस्र्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म डबल सर्किट २२० केभी प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिनेछ।
प्रसारण लाइन सञ्चालनमा आउन थालेसँगै त्यस क्षेत्रका संरचना उच्च जोखिमयुक्त हुने भएकाले प्राधिकरणले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै वस्तुले नछुन, वरपर अनावश्यक रूपमा नजान तथा चौपाया टावर नजिक नछोड्न अनुरोध गरिएको छ।
तनहुँ, गोरखा र चितवन जिल्लाका विभिन्न क्षेत्र हुँदै गएको प्रसारण लाइनको प्रभाव क्षेत्रभित्र पर्ने बस्तीहरूलाई पनि सावधानी अपनाउन आग्रह गरिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ३, ४ र ५, गोरखाको गोरखा नगरपालिका–१४ याङ्कोट क्षेत्र तथा चितवनको भरतपुर महानगरपालिका–२९ जुगेडी, चौकीडाँडा र इच्छाकामना गाउँपालिका–६ रिग्दीखोला क्षेत्र प्रभावित क्षेत्रमा पर्ने जनाइएको छ।
यस आयोजनाअन्तर्गत ठेक्का पाएको चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले तोकिएको समयभित्र काम पूरा गर्न नसकेपछि निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूको सहकार्यमा सब–कन्ट्र्याकमार्फत निर्माण सम्पन्न गरिएको हो।
प्रसारण लाइन सञ्चालनसँगै राष्ट्रिय विद्युत् प्रसारण प्रणाली थप मजबुत हुने अपेक्षा गरिएको छ।

