काठमाडौं । नेपालको पर्वतीय पर्यटन क्षेत्रका लागि दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) तथा नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ।
समझदारीअनुसार अपी, मनास्लु र कञ्चनजंघा क्षेत्रमा तीनवटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिनेछ। यसअन्तर्गत अपी हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किल (बेसिक माउन्टेनियरिङ तालिम), कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किल (एड्भान्स माउन्टेनियरिङ तालिम) तथा मनास्लु क्षेत्रमा माउन्टेन लिडर ट्रेनिङ (समर स्किल) सञ्चालन गरिने कार्यक्रम तय भएको छ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐरले पर्वतीय पर्यटन नेपालको प्रमुख पहिचान र प्रतिस्पर्धात्मक क्षमता भएको क्षेत्र भएकाले यसको दिगो विकासका लागि दक्ष जनशक्ति निर्माण अपरिहार्य रहेको बताए।
उनले गुणस्तरीय, सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दक्ष मानव स्रोत नै मुख्य आधार भएको उल्लेख गर्दै नेपाल पर्वतारोहण संघसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दक्ष पर्वतारोहण जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। यसबाट नेपालको पर्वतीय पर्यटन अझ सुरक्षित, व्यावसायिक र प्रतिस्पर्धी बन्ने उनको भनाइ छ।
समझदारीपत्रमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्रबहादुर लामा र कोषाध्यक्ष सुमी लामाले हस्ताक्षर गरेका छन्। पर्यटन बोर्डका तर्फबाट एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐर, राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाह तथा राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडीले हस्ताक्षर गरेका छन्।
यस सहकार्यबाट नेपालमा अन्तर्राष्ट्रिय स्तरका पर्वतारोहण गाइड तथा नेतृत्व क्षमतायुक्त जनशक्ति उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

