काठमाडौं । नेपालको हिमाली जिल्ला मुस्ताङमा रहेको शिन्तामणि मुस्ताङ विश्वकै उत्कृष्ट विलासी रिसोर्टको सूचीमा पहिलो स्थानमा परेको छ । अन्तर्राष्ट्रिय लक्जरी लाइफस्टाइल म्यागेजिन ‘रोब रिपोर्ट’ ले सार्वजनिक गरेको सन् २०२६ का लागि विश्वका ५० उत्कृष्ट लक्जरी होटलको सूचीमा शिन्तामणि मुस्ताङले शीर्ष स्थान हासिल गरेको हो ।
विश्वका चर्चित होटल, रिसोर्ट र सफारी क्याम्पलाई पछि पार्दै नेपालको यो रिसोर्टले विश्वकै उत्कृष्ट विलासी गन्तव्यको पहिचान बनाएको छ । रोब रिपोर्टले २४ जना अन्तर्राष्ट्रिय ट्राभल विज्ञको सिफारिस, स्थलगत अनुभव तथा सेवा, व्यवस्थापन, स्थान र मौलिकताका आधारमा यो सूची तयार गरेको जनाएको छ ।
कालीगण्डकी नदीको किनारमा अवस्थित शिन्तामणि मुस्ताङको डिजाइन विश्वप्रसिद्ध डिजाइनर बिल बेन्स्लीले गरेका हुन् । स्थानीय बाग्लुङ ढुङ्गाको प्रयोग गरी निर्माण गरिएको यस रिसोर्टमा २९ वटा सुविधासम्पन्न कोठा रहेका छन् । जहाँबाट निलगिरि र धौलागिरि हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
रिसोर्टले प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति र विलासी आतिथ्यलाई एकै ठाउँमा समेटेको छ । यहाँ आउने पाहुनाका लागि न्यूनतम पाँच रातको बसाइको व्यवस्था गरिएको छ, जसले पर्यटकलाई मुस्ताङको प्राकृतिक वातावरण र सांस्कृतिक सम्पदासँग गहिरो रूपमा जोडिने अवसर प्रदान गर्ने बताइएको छ ।
शिन्तामणि मुस्ताङमा हिमाली पदयात्रा, घोडचढी, धनुषबाणजस्ता गतिविधिसँगै ८०० वर्ष पुरानो लुब्रा गाउँ भ्रमण, बोन बौद्ध संस्कृतिको अध्ययन तथा परम्परागत तिब्बती चिकित्सा पद्धति ‘आम्ची’ सेवा उपलब्ध छ ।
एभरेस्ट क्षेत्रको तुलनामा कम भीडभाड र शान्त वातावरण रहेको मुस्ताङ एकान्त, मौलिकता र विशेष अनुभव खोज्ने उच्चस्तरीय पर्यटकको आकर्षण बन्दै गएको छ ।
रोब रिपोर्टको सूचीमा दोस्रो स्थानमा रुवान्डाको सिंगिता क्विटोन्डा, तेस्रो स्थानमा स्कटल्यान्डको होप लज, चौथो स्थानमा जापानको पार्क हयात टोकियो र पाँचौँ स्थानमा भारतको शक्ति प्राणपर्न रहेका छन् ।
विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टको सूचीमा नेपालको शिन्तामणि मुस्ताङ पहिलो स्थानमा पर्नुले नेपालको पर्यटन क्षेत्रका लागि अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान स्थापित गरेको छ । यसले नेपाललाई साहसिक पर्यटनसँगै उच्चस्तरीय विलासी पर्यटनको गन्तव्यका रूपमा समेत चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

