भद्रपुर। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालयबाट गत आर्थिक वर्षमा रु एक अर्ब ७९ करोड २८ लाख १८ हजार बराबरको छुर्पी निर्यात भएको छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली छुर्पीको माग निरन्तर बढेसँगै अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा यसको निर्यात करिब २७ प्रतिशतले वृद्धि भएको हो। मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ४१ करोड ७१ लाख चार हजार बराबरको छुर्पी निकासी भएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार विगत पाँच वर्षदेखि मेची नाकाबाट छुर्पीको निर्यात निरन्तर उकालो लागिरहेको छ। विशेष गरी इलाम, पाँचथर र ताप्लेजुङमा उत्पादन हुने यो छुर्पी अन्तर्राष्ट्रिय बजारमा कुकुर र बिरालोका लागि पौष्टिक आहार (डग एन्ड क्याट च्यु) का रूपमा खपत हुने गरेको छ।

