Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सामाजिक सद्भाव र आर्थिक वातावरण जोगाउन नाडाको अपिल, शान्ति सुरक्षामा जोड

सामाजिक सद्भाव र आर्थिक वातावरण जोगाउन नाडाको अपिल, शान्ति सुरक्षामा जोड

आर्थिक पत्र
शुक्रवार, श्रावण १५ २०८३
  • काठमाडौं । पूर्वी नेपाल, विशेषगरी सुनसरीको कप्तानगञ्ज लगायत तराईका केही जिल्लामा पछिल्लो समय देखिएका अशान्त गतिविधि, हिंसात्मक घटनाक्रम र त्यसबाट सिर्जित असहज परिस्थितिप्रति नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

    नाडाले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक पहिचान बोकेको राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता, आपसी सद्भाव, सहिष्णुता र भाइचारा नेपालको प्रमुख शक्ति भएको बताइएको छ।

    संविधानले प्रत्येक नागरिकलाई आफ्ना विचार, असहमति र मागहरू शान्तिपूर्ण तथा लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्ने अधिकार सुनिश्चित गरेको भन्दै नाडाले कुनै पनि प्रकारको हिंसात्मक गतिविधि, तोडफोड, अशान्ति वा सामाजिक सद्भावमा खलल पुर्‍याउने कार्य स्वीकार्य हुन नसक्ने जनाएको छ।

    नाडाले यस्ता घटनाले शान्ति सुरक्षामा मात्र असर नपार्ने भन्दै सर्वसाधारणको दैनिक जीवन, उद्योग–व्यवसाय, लगानी, आर्थिक गतिविधि र समग्र राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ।

    विशेषगरी व्यवसायी समुदाय यस्ता अस्थिर परिस्थितिबाट प्रत्यक्ष प्रभावित हुने भएकाले सम्पूर्ण व्यवसायी समुदाय चिन्तित रहेको नाडाले जनाएको छ।

    नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउन तथा कानुनी र लोकतान्त्रिक प्रक्रियामार्फत संवाद र आपसी समझदारीका आधारमा समस्याको शीघ्र समाधान खोज्न आग्रह गरेको छ।

    त्यस्तै, नेपाल सरकार तथा सम्बन्धित निकायलाई शान्ति, सुरक्षा र नागरिकको जनधनको संरक्षण सुनिश्चित गर्दै सामान्य जनजीवन र व्यवसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन आवश्यक पहल गर्न नाडाले अनुरोध गरेको छ।

    अन्त्यमा नाडाले सम्पूर्ण नेपाली नागरिकलाई सामाजिक सद्भाव, राष्ट्रिय एकता, आपसी सम्मान र सहिष्णुता अझ मजबुत बनाउन आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न अपिल गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार