Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

नाडा अटो शोमा ५० ब्रान्डका सवारीसाधन, २ लाख आगन्तुक आउने अपेक्षा

नाडा अटो शोमा ५० ब्रान्डका सवारीसाधन, २ लाख आगन्तुक आउने अपेक्षा

आर्थिक पत्र
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनी नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने यस वर्षको प्रदर्शनी नाडाको ५०औँ वार्षिकोत्सवसँगै स्वर्ण उत्सव संस्करणका रूपमा आयोजना गर्न लागेको हो।

    करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्। आयोजकका अनुसार प्रदर्शनीमा २३ वटा प्यासेन्जर कार, १७ वटा लाइट कमर्सियल भेहिकल, १३ वटा दुईपांग्रे सवारीसाधन, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायक र करिब ७० वटा अटोमोबाइल पार्टपुर्जा, टायर, लुब्रिकेन्ट्स, एसेसरिज तथा ग्यारेज उपकरणसम्बन्धी स्टल रहनेछन्।

    प्रदर्शनीमा नेपालमा एसेम्बल हुने सवारीसाधनसँगै स्वदेशमै उत्पादित लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य अटोमोबाइल सामग्रीलाई समेत प्राथमिकताका साथ प्रदर्शन गरिनेछ।

    नयाँ मोडलदेखि रोबोटसम्म

    यस वर्षको अटो शोमा विभिन्न ब्रान्डका नयाँ सवारीसाधन तथा मोडल सार्वजनिक गर्ने तयारी गरिएको छ। त्यस्तै, जी१ ह्युमानोइड रोबोट र गो२ क्वाड्रुपेड रोबोट प्रदर्शनीका प्रमुख आकर्षणका रूपमा रहनेछन्।

    ‘मेड इन नेपाल/मेड फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमा उत्पादन भइरहेका सवारीसाधन, ल्युब, ब्याट्री, हेल्मेट तथा अन्य कम्पोनेन्टको प्रदर्शन गरिनेछ।

    स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियमसमेत आयोजना गरिने आयोजकले जनाएको छ।

    विद्युतीय सवारी र स्मार्ट मोबिलिटीमा जोड

    नेपालको अटोमोबाइल बजार विद्युतीय तथा स्मार्ट मोबिलिटीको दिशामा तीव्र रूपमा अघि बढिरहेका बेला यसपटकको अटो शोले नयाँ प्रविधि र मोबिलिटी समाधानलाई विशेष प्राथमिकता दिने भएको छ।

    प्रदर्शनीको उद्देश्य नयाँ सवारीसाधन बिक्री गर्ने मात्र नभई अटोमोबाइल उद्योग, प्रविधि, वित्तीय सेवा, बीमा, पार्टपुर्जा र उपभोक्तालाई एउटै मञ्चमा जोड्नु रहेको नाडाले जनाएको छ।

    टिकटमा क्यासब्याकदेखि पार्किङसम्मको व्यवस्था

    अटो शोमा आउने दर्शकका लागि खल्ती एपमार्फत अग्रिम टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको छ। निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

    आगन्तुकको सहजताका लागि छुट्टाछुट्टै जोनमा दुईपांग्रे, चारपांग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स तथा ग्यारेज उपकरण प्रदर्शन गरिनेछ।

    पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डरग्राउन्ड पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा समेत व्यवस्था मिलाइने भएको छ।

    त्यस्तै, महानगरीय ट्राफिक प्रहरीसँगको सहकार्यमा ट्राफिक सूचना डेस्क, सञ्चारकर्मीका लागि मिडिया डेस्क, आपत्कालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा अग्नि नियन्त्रणको व्यवस्था गरिनेछ। प्रदर्शनीस्थललाई ह्वीलचेयरमैत्रीसमेत बनाइने आयोजकले जनाएको छ।

    २ लाख आगन्तुक आउने अपेक्षा

    छ दिनसम्म चल्ने अटो शोमा करिब दुई लाख आगन्तुक आउने अपेक्षा नाडाले गरेको छ। आयोजकका अनुसार प्रदर्शनीले नयाँ सवारीसाधन तथा प्रविधिको प्रदर्शनसँगै अटोमोबाइल क्षेत्रमा व्यवसायिक नेटवर्क विस्तार, लगानी तथा रोजगारीका अवसर र समग्र मोबिलिटी इकोसिस्टमको विकासमा समेत योगदान पुर्‍याउनेछ।

    यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ। शिखर इन्स्योरेन्स सह–प्रायोजक तथा बीमा साझेदार रहेको प्रदर्शनीमा विभिन्न कम्पनी तथा संस्थाले चार्जिङ, टिकटिङ, कनेक्टिभिटी, मोबिलिटी, स्वास्थ्य, खाद्य तथा सुरक्षा साझेदारका रूपमा सहकार्य गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार