धरान । नेपालमा विद्युतीय सवारीसाधनप्रतिको आकर्षण बढ्दै गएसँगै एथर नेपालले आफ्नो देशव्यापी उपस्थिति विस्तार गरेको छ। नेपालका लागि एथर इनर्जीको अधिकृत वितरक वैद्य इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ एथर एक्सपेरियन्स सेन्टर सञ्चालनमा ल्याएको हो।
कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा १७ भदौमा नयाँ एक्सपेरियन्स सेन्टरको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ। यससँगै नेपालमा एथरका एक्सपेरियन्स सेन्टरको संख्या १३ पुगेको छ।
काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायत प्रमुख सहरमा उपस्थिति विस्तार गरिसकेको एथरले धरानमा नयाँ केन्द्र सञ्चालनमा ल्याएसँगै पूर्वी नेपालका ग्राहकलाई आफ्ना उत्पादन, प्रविधि तथा स्वामित्व अनुभव नजिकबाट उपलब्ध गराउने भएको छ।
धरानमा एथरका नयाँ प्रविधिसहितका स्कुटर
धरानस्थित एक्सपेरियन्स सेन्टरमा ग्राहकले एथरको ४५० सिरिज तथा परिवारकेन्द्रित रिज्टा स्कुटर हेर्न तथा परीक्षण सवारी गर्न सक्नेछन्।
त्यसैगरी, नयाँ ४५० एक्स ओभरटोन सिरिजसमेत धरानमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। नयाँ पुस्ताको ४५० सिरिजमा कार्यसम्पादनसँगै प्रविधि र राइडिङ अनुभवलाई प्राथमिकता दिइएको छ।
यसमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस इन्टरयाक्सन्सजस्ता प्रविधि उपलब्ध छन्। म्याजिक ट्विस्टले थ्रोटल प्रयोग गरेर सहज रूपमा गति घटाउन सहयोग गर्छ भने इन्फिनिट क्रुजले लामो दूरीको यात्रामा सहज क्रुजिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। भ्वाइस इन्टरयाक्सन्समार्फत राइडरले भ्वाइस कमान्ड प्रयोग गरी स्कुटरसँग अन्तर्क्रिया गर्न सक्नेछन्।
रिज्टा भने आरामदायी यात्रा, व्यावहारिकता तथा परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको मोडल हो।
उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ
धरानमा एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भएको कम्पनीले जनाएको छ। यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ पुस्ताको प्रविधिप्रति ग्राहकको चासो बढिरहेको देखाउने कम्पनीको भनाइ छ।
एक्सपेरियन्स सेन्टर उद्घाटनको अवसरमा २३ भदौ २०८३ सम्म विशेष ओपनिङ स्किमसमेत ल्याइएको छ। ग्राहकले एक्सटेन्डेड ब्याट्री वारेन्टी, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा थप ८ हजार रुपैयाँ मूल्यांकन सुविधा मध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।
८ वर्ष वा ८० हजार किलोमिटरसम्म ब्याट्री वारेन्टी
एथरले नेपालमा उत्पादन बिक्रीसँगै स्वामित्व अनुभवलाई पनि प्राथमिकता दिएको जनाएको छ। एथर एस्योरेन्सअन्तर्गत एट सेभेन्टी ब्याट्री वारेन्टीमा ब्याट्रीका लागि ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसमा ब्याट्रीको स्वास्थ्य ७० प्रतिशत कायम रहने सुनिश्चिततासमेत दिइएको छ।
वैद्य इनर्जीले नेपालभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टर विस्तार गरिसकेको जनाएको छ। यसबाट ग्राहकले विभिन्न सहर तथा आसपासका क्षेत्रमा तालिमप्राप्त प्राविधिकबाट सर्भिस सुविधा प्राप्त गर्न सक्नेछन्।
नेपालभर ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड
कम्पनीका अनुसार एथरको फास्ट चार्जिङ नेटवर्क पनि नेपालभर विस्तार भइरहेको छ। हाल देशभर ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड निर्माण भइसकेका छन्।
कम्प्याटिबल एथर स्कुटरलाई उक्त चार्जिङ ग्रिडमा शून्यदेखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। यसले दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्मका लागि चार्जिङ सुविधा सहज बनाउने उद्देश्य राखेको छ।
धरानमा नयाँ एक्सपेरियन्स सेन्टर सञ्चालनमा आउनुलाई कम्पनीले केवल नयाँ सोरुम थपिएको रूपमा नभई नेपालमा विद्युतीय गतिशीलताको समग्र प्रणाली विस्तारको अर्को चरणका रूपमा लिएको छ।

