Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

भाटभटेनीमा शून्य प्रतिशत ब्याजदरमा सामान किन्न पाइने, दशैंदेखि ब्रान्डेड लुगा–जुत्तामा पनि लागू हुने

भाटभटेनीमा शून्य प्रतिशत ब्याजदरमा सामान किन्न पाइने, दशैंदेखि ब्रान्डेड लुगा–जुत्तामा पनि लागू हुने

आर्थिक पत्र
आइतवार, आश्विन ४ २०८३
  • काठमाडौं। ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीचको सहकार्यमा सञ्चालन भइरहेको शून्य प्रतिशत ब्याजदरको किस्ताबन्दी (ईएमआई) सुविधा थप विस्तार गरिने भएको छ । सुरुमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत इलेक्ट्रोनिक्स तथा होम एप्लायन्समा सीमित रहेको यो योजना अब किचेनवेयर, कार्पेट, लगेज र विद्युतीय किचेन उपकरणमा समेत लागू गरिएको छ । आगामी दशैंदेखि ब्रान्डेड लुगा–जुत्तामा पनि यही सुविधा उपलब्ध गराउने तयारी गरिएको भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्टल स्टोरकी डाटा एनालइसीस आस्था गुरुङले जानकारी दिइएकी छन । 

    images

    जेठ २४ गतेदेखि सुरु भएको यस योजनाअन्तर्गत ग्राहकले कुनै अतिरिक्त ब्याज, लुकेको शुल्क वा डाउन पेमेन्टबिना क्रेडिट कार्डमार्फत सामान खरिद गरी ३, ६, ९, १२ र १८ महिनासम्म किस्तामा भुक्तानी गर्न सकिने ग्लोबल आईएमई बैंकका ट्रान्जेक्सन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बताए । हाल यो सेवा भाटभटेनीका सबै २४ वटा आउटलेटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 

    १५ हजारदेखि सुरु हुने सुविधा
    हालका लागि १५ हजार रुपैयाँभन्दा माथिको इलेक्ट्रोनिक्स खरिदमा किस्ताबन्दी सुविधा लागू गरिएको छ । बैंकका अनुसार आगामी चरणमा मार्केटका विभिन्न फ्लोरका सामानअनुसार न्यूनतम खरिद सीमा परिवर्तन गरिनेछ । ब्रान्डेड लुगा–जुत्तामा करिब १० हजार रुपैयाँ र किचेनवेयरमा  १५ हजार रुपैयाँबाट पनि किस्ताबन्दी सुविधा सञ्चालन गर्ने तयारी भइरहेको भाटभटेनी सुपरकी डाटा एनालइसेस प्रमुख गुरुङले बताइन । 

    भाटभटेनीकी गुरुङका अनुसार इलेक्ट्रोनिक्समा  १५ हजार रुपैयाँको सीमा त्यस प्रकारका सामानको औसत मूल्यलाई ध्यानमा राखेर निर्धारण गरिएको हो। अन्य फ्लोरका सामानमा भने मूल्यअनुसार सीमा क्रमशः घटाइने उनले बताइन ।

    छुट पनि कायम, ब्याज पनि शून्य
    भाटभटेनीले यो योजनाको सबैभन्दा ठूलो विशेषता ग्राहकले छुटसमेत पाउने व्यवस्था रहेको जनाएको छ । बजारका धेरै स्थानमा किस्ताबन्दी गर्दा अधिकतम खुद्रा मूल््यमा नै सामान खरिद गर्नुपर्ने अवस्था भए पनि भाटभटेनीमा छुट कटाएर बाँकी रकममा किस्ताबन्दी गरिने व्यवस्था छ ।भाटभटेनीले दिने छुटपछि किस्ताबन्दीको दर लगाउने गरेका छौं । त्यसमा पनि शून्य प्रतिशत ब्याज र शून्य डाउन पेमेन्टको सुविधा उपलब्ध हुने बताइएको छ। 

    ग्राहकमा किस्ताबन्दीमा सामान खरिद गर्दा मूल्य बढाइन्छ भन्ने धारणा रहे पनि भाटभटेनीमा त्यस्तो व्यवस्था नरहेको र छुटपछि निर्धारण भएको मूल्यमा नै किस्ताबन्दी सुविधा दिइने गरेको उनले बताइन । 

    तीन लाखसम्म तत्काल क्रेडिट सीमा
    ग्लोबल आइएमई बैंकका अनुसार योग्य ग्राहकलाई डिजिटल प्रक्रियामार्फत वास्तविक समयमा  ३ लाखसम्मको क्रेडिट कार्ड सीमा स्वीकृत गर्न सकिन र योभन्दा माथिको कारोबारमा भने थप कागजात आवश्यक पर्ने बैंकले जनाएको छ । ग्राहकको खरिद व्यवहार र बैंकको मूल्याङ्कनका आधारमा सीमा निर्धारण गरिन्छ ।

    यदि कसैलाई ३ लाख रुपैयाँभन्दा बढी सीमा आवश्यक परे थप कागजात, सीआईसी रिपोर्ट तथा बैंकको प्रक्रियापछि सीमा बढाउन सकिने व्यवस्था छ । पहिलेदेखि नै उच्च सीमा भएका कार्डधारकले आफ्नो उपलब्ध सीमा बराबरको खरिदमा ईएमआई सुविधा प्रयोग गर्न सक्नेछन । 
    बैंकका अनुसार ग्राहकले भाटभटेनीमा सामान खरिद गर्दा आफ्नो उपलब्ध क्रेडिट सीमा बराबरको रकम किस्तामा प्रयोग गर्न सक्नेछन भने थप सीमा आवश्यक परे बैंकमा आवश्यक कागजात बुझाएर सीमा वृद्धि गराउन सक्नेछन । 

    भाटभटेनीका लोयल्टी सदस्यका लागि विशेष व्यवस्था

    यो सुविधा सबै ग्राहकलाई स्वतः उपलब्ध नभई भाटभटेनीको लोयल्टी प्रणालीमार्फत योग्य ग्राहकलाई प्राथमिकता दिइएको भाटभटेनी सुपरमार्केटले जनाएको छ । 

    योग्य बन्नका लागि ग्राहकले भाटभटेनीको लोयल्टी एपमार्फत सदस्यता लिनुपर्छ । त्यसपछि कम्तीमा एक आर्थिक वर्षभित्र १ लाख रुपैयाँभन्दा बढी खरिद गरेका ग्राहकलाई एपमा ‘योग्य’ सूचना आउने व्यवस्था गरिएको छ ।

    भाटभटनीका अनुसार सदस्यता लिन कुनै विशेष मापदण्ड छैन । मोबाइलमा लोयल्टी एप डाउनलोड गरी दर्ता गरेपछि ग्राहक सदस्य बन्न सक्छन । त्यसपछि प्रत्येक खरिद सदस्य नम्बरमा अभिलेख हुने भएकाले त्यसैका आधारमा भविष्यमा विभिन्न सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । 

    १० लाख सदस्य, ५० हजार ग्राहक योग्य
    भाटभटेनीका अनुसार हाल यसको लोयल्टी कार्यक्रममा १० लाखभन्दा बढी सदस्य आबद्ध भइसकेका छन । तीमध्ये करिब ५० हजार ग्राहक यो क्रेडिट कार्ड कार्यक्रमका लागि योग्य रहेको मार्केटले जनाएको छ ।  

    क्रेडिट कार्डको योजना सुरु भएको पहिलो सातामै झन्डै एक हजार ग्राहक कार्यक्रममा आबद्ध भएको मार्केटले जानकारी दिएको छ । हालसम्म करिब दुई हजार कार्ड सक्रिय भइसकेका छन । 

    ग्राहकबाट सकारात्मक प्रतिक्रिया

    कम्पनीका प्रतिनिधिका अनुसार योजनाप्रति ग्राहकको प्रतिक्रिया अत्यन्त उत्साहजनक रहेको छ। धेरै ग्राहकले व्यक्तिगत रूपमा सम्पर्क गरेर योजनाको प्रशंसा गरेका छन । 

    एक ग्राहकले आफ्नो छोरी–ज्वाइँ विदेशबाट नेपाल फर्किएपछि घर सजाउन टेलिभिजन र फ्रिज दुवै उपहार दिन चाहेको तर बजेटले एउटा मात्र किन्न सकिने अवस्था रहेको बताएपछि क्रेडिट कार्डको सुविधाले ती ग्राहकको आवश्यकता पुरा गरेको मार्केटकी डाटा एनालाइसिस प्रमुख गुरुङ बताउछिन । पूर्वस्वीकृत क्रेडिट कार्डको सुविधापछि उनले दुवै सामान खरिद गर्न सफल भएको र पछि कम्पनीलाई फोन गरेर योजना निकै उपयोगी भएको प्रतिक्रिया दिएको उनले जानकारी दिइन ।

    बिक्रीमा प्रभाव मूल्याङ्कनकै क्रममा

    भाटभटेनीका अनुसार योजनाको प्रभाव सकारात्मक देखिए पनि बिक्रीमा परेको वास्तविक प्रभाव मापन गर्न अझ केही समय लाग्ने उनले बताइन । यद्यपि हाल सञ्चालन भएको अवधिमा मात्रै करिब पाँचदेखि छ करोड रुपैयाँ बराबरको कारोबार यस योजनामार्फत भएको कम्पनीका चिफ फाइनासियल अफिसर(सीएफओ) अनिल खरेलले बताए  । उनले भने,‘ यो योजना लागू भएको एक त्रैमाससम्मको तथ्यांक नआएसम्म यसको प्रभावको मूल्यांकन गर्न अलि गा¥ह्रो पर्छ । एक त्रैमासको तथ्यांक आएपछि यसको प्रभावको तथ्यांकका बारेमा स्पष्ट रुपमा भन्न सकिन्छ ।’

    दशैँअघि थप विस्तार

    भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोरले दशैँलाई लक्षित गर्दै ईएमआई योजनालाई थप विस्तार गर्ने तयारी गरेको जनाएको छ। एप्पल र साओमीका उत्पादनमा समेत सुविधा थपिने भएको छ भने भविष्यमा ग्रोसरी सामग्रीमा पनि किस्ताबन्दी सुविधा उपलब्ध गराउने दीर्घकालीन योजना रहेको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार