काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्याकार ट्रेडिङ प्रालिलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । होण्डाको स्पेयर पार्टस एमआरपी भन्दा बढी मूल्य लिएर बिक्री गरेपछि स्याकारलाई विभागले कारबाही गरेको हो ।
स्याकार ट्रेडिङ प्रालि नेपालका लागि होण्डा ब्राण्डका मोटरसाइकलको आधिकारिक आयातकर्ता हो । केही दिन अघि विभागमा कम्पनीले एमआरपी भन्दा बढीमा स्पेयर पार्ट्स बिक्री गरेको भन्दै उजुरी परेको थियो । त्यसपछि विभागको अनुगमन टोलीले ललितपुरको कुमारीपाटीस्थित स्याकार ट्रेडिङको शोरुममा छापा मारेको थियो ।
छापा मारेपछि विभागले एमआरपीभन्दा बढी मूल्यमा स्पेयर पार्ट्स बिक्री भइरहेको फेला पारेको र सोही अनुसार जरिवाना गराएको हो । विभगका सूचना अधिकारी अनिल किरातीका अनुसार उक्त स्पेयर पार्ट्सको एमआरपी मूल्य १ हजार ६ सय रुपैयाँ तोकिएको थियो । तर, कम्पनीले उपभोक्तालाई १ हजार ८ सय रुपैयाँमा बिक्री गरेको पाइएको थियो ।
यसरी एमआरपी भन्दा २ सय रुपैयाँमा होण्डाको स्पेयर पार्टस बिक्री गरेको पाइएपछि विभागले कम्पनीलाई ३ लाख जरिवाना लगाएको सूचना अधिकारी किरातीको भनाई छ ।


