Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

नेपालमा पूर्वाधार र पुनर्निर्माणका लागि लगानी बढाउन अर्थमन्त्री वाग्लेको एआईआईबीसँग आग्रह

नेपालमा पूर्वाधार र पुनर्निर्माणका लागि लगानी बढाउन अर्थमन्त्री वाग्लेको एआईआईबीसँग आग्रह

आर्थिक पत्र
सोमवार, आश्विन १२ २०८३
  • काठमाडौं। एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुगेका अर्थमन्त्री एवं एआईआईबीका लागि नेपालका गभर्नर डा. स्वर्णिम वाग्ले र बैंककी अध्यक्ष जोउ जियायीबीच भेटवार्ता भएको छ।

    images

    कतारको राजधानी दोहामा भएको भेटमा अर्थमन्त्री वाग्लेले नेपालमा एआईआईबीको लगानी विस्तार, प्राकृतिक विपदपछिको पुनर्निर्माण तथा सहुलियतपूर्ण वित्तीय पहुँच बढाउन बैंककी अध्यक्ष जियायीलाई आग्रह गरे।

    भेटका क्रममा एआईआईबीकी अध्यक्ष जोउले हालै भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपालले भोग्नुपरेको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो समवेदना प्रकट गरिन्। उनले विपदपछिको उत्थानशील पुनर्निर्माणमा बैंकका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाइन्।

    अध्यक्ष जोउका अनुसार बैंकले ‘प्रोजेक्ट प्रिपरेसन स्पेसलाइज्ड फण्ड’ मार्फत परियोजना तयारीका लागि अनुदान सहायता उपलब्ध गराउनेछ।

    साथै, स्पेसलाइज्ड फण्ड विन्डो अन्तर्गतको अनुदान प्रयोग गरी एआईआईबीले नेपाललाई दिने ऋणलाई अधिकतम सहुलियतपूर्ण ब्याजदरमा कायम गर्न सकिने विचार उनले व्यक्त गरिन्। एआईआईबीको संस्थापक सदस्य राष्ट्र नेपालको आर्थिक विकासमा थप सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धतासमेत उनले दोहोर्‍याइन्।

    सो अवसरमा अर्थमन्त्रीले नयाँ अध्यक्ष जोउलाई बधाई दिँदै संस्थापक सदस्यका रूपमा नेपाललाई पुर्‍याउँदै आएको सहयोगप्रति आभार व्यक्त गरे।

    उनले एआईआईबीको लगानीमा हाल सञ्चालनमा रहेका विद्युत् वितरण प्रणाली सुधार तथा विस्तार आयोजना र एक्सप्रेस सडकको अध्ययन कार्य शीघ्र सम्पन्न गर्न आग्रह गरे। साथै, बैंकको लगानी रहेको माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा बाढीले पुर्‍याएको क्षतिप्रति उनले दुःख व्यक्त गरे।

    अर्थमन्त्री डा. वाग्लेले मध्यमकालीन तथा दीर्घकालीन सहायताअन्तर्गत हरित ऊर्जा, सीमापार विद्युत् प्रसारण लाइन, सडक पूर्वाधार र डिजिटल पूर्वाधारको विकासमा बैंकको आफ्नै स्रोतका साथै अन्य दातृ निकायको स्रोतसमेत परिचालन गरिदिन आग्रह गरे।

    छलफलकै क्रममा उनले अध्यक्ष जोउलाई सन् २०२६ भित्रै नेपाल भ्रमणका लागि निमन्त्रणासमेत दिएका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार