Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

मेटलाइफद्धारा बाढी प्रभावितहरूका लागि १ लाख २० हजार डलर सहयोग

मेटलाइफद्धारा बाढी प्रभावितहरूका लागि १ लाख २० हजार डलर सहयोग

आर्थिक पत्र
बिहिवार, आश्विन २९ २०८३
  • काठमाडौं । मेटलाइफ फाउन्डेसनले रसुवा, नुवाकोट, धादिङ तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासलाई सहयोग गर्न केयर नेपाललाई १ लाख अमेरिकी डलर अनुदान प्रदान गरेको छ।

    images

    विनाशकारी बाढीले जनजीवन प्रभावित बनाउनुका साथै घर तथा भौतिक पूर्वाधारमा क्षति पुर्‍याएको छ। बाढीका कारण धेरै परिवारले आफ्नो जीविकोपार्जनका स्रोत गुमाएका छन्। प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउन केयर नेपाल र यसका साझेदार संस्थाहरूले स्थलगत रूपमा खटिएर तयारी खाद्य सामग्री, कम्बल, अस्थायी आवास सामग्री तथा सरसफाइ किटलगायत अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्।

    सडक सञ्जालमा पुगेको क्षति र दुर्गम क्षेत्रसम्म पुग्न कठिनाइ भए पनि राहत टोलीले आवश्यकतामा रहेका समुदायसम्म सहायता पुर्‍याउन निरन्तर प्रयास गरिरहेको छ।

    केयर नेपालको राहत प्रयास विशेषगरी बाढीका कारण घर, सम्पत्ति तथा जीविकोपार्जनका स्रोत गुमाएका परिवारमा केन्द्रित छ। मेटलाइफ फाउन्डेसनबाट प्राप्त सहयोगले राहत तथा पुनःस्थापनाका प्रयासलाई थप सुदृढ बनाउनुका साथै जोखिममा रहेका परिवारलाई आवश्यक सहायता र सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले विपद्बाट प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै मेटलाइफ फाउन्डेसनको सहयोगले प्रभावित परिवारका तत्कालीन आवश्यकता सम्बोधन गर्न अर्थपूर्ण योगदान पुर्‍याएको बताए। उनले यस सहयोगले प्रभावित परिवारलाई आफ्नो भविष्य पुनर्निर्माण गर्ने क्रममा स्थायित्व, सुरक्षा र आत्मविश्वास पुनःप्राप्त गर्न पनि मद्दत गर्ने उल्लेख गरे।

    त्यस्तै, केयर नेपालकी कन्ट्री डाइरेक्टर मोना शेर्पाले मेटलाइफ फाउन्डेसनजस्ता सहयोगीहरूको विश्वास र साथले स्थानीय सरकार तथा साझेदार संस्थाहरूसँग समन्वय गरी प्रभावकारी र समयमै सहायता पुर्‍याउन सक्षम बनाएको बताइन्। समुदायहरूले आफ्नो जीवन पुनर्निर्माण गर्ने यात्रामा केयर नेपालमाथि विश्वास गरेकोमा उनले मेटलाइफप्रति आभार व्यक्त गरिन्।

    मेटलाइफ फाउन्डेसनको सहयोगका अतिरिक्त मेटलाइफ नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख रुपैयाँ (करिब २ हजार अमेरिकी डलर) योगदान गरेको छ। यस सहयोगले विपद्बाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउनुका साथै राष्ट्रियस्तरमा सञ्चालन भइरहेका राहत तथा पुनःस्थापनाका प्रयासलाई सहयोग गर्ने कम्पनीको प्रतिबद्धता थप सुदृढ बनाएको छ।

    तत्काल राहत कार्य महत्त्वपूर्ण भए पनि दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी निकाय, मानवीय सहायता प्रदान गर्ने संस्था, स्थानीय समुदाय तथा निजी क्षेत्रबीच निरन्तर सहकार्य आवश्यक छ। प्रभावित समुदाय पुनःस्थापनाको यात्रामा अघि बढिरहेका बेला मेटलाइफ फाउन्डेसन र मेटलाइफ नेपालको संयुक्त प्रयासले आवश्यकतामा रहेका परिवारसम्म अर्थपूर्ण सहायता पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार