काठमाडौं । कात्तिक १२ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मौसम पूर्वानुमान मोडलहरूले देखाएको सम्भावित वर्षाका आधारमा २८ जिल्लालाई अति उच्च र थप २३ जिल्लालाई उच्च जोखिमको वर्गमा राखिएको छ ।
काठमाडौं उपत्यकासहित बागमती, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा वर्षाको जोखिम देखिएको छ । विशेषगरी शुक्रबार र शनिबार वर्षाको सम्भावित प्रभावलाई ध्यानमा राख्दै सतर्कता अपनाउनुपर्ने देखिएको छ ।
सञ्चित वर्षाको प्रक्षेपणअनुसार ललितपुरमा २७३ मिलिमिटर, लमजुङमा २६३ मिलिमिटर, मनाङमा २५० मिलिमिटर, कास्कीमा २४९ मिलिमिटर र काठमाडौंमा २४६ मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ । त्यस्तै, स्याङ्जामा २४० मिलिमिटर, बागलुङमा २३९ मिलिमिटर र अर्घाखाँचीमा २३८ मिलिमिटरसम्म सञ्चित वर्षाको संकेत देखिएको छ ।
यी परिमाण अक्टोबर २९ देखि नोभेम्बर २ सम्मको ९६ घण्टाका लागि गरिएको प्रक्षेपणमा आधारित छन् । यसलाई एकै दिनमा पर्ने वर्षाका रूपमा बुझ्न मिल्दैन । वास्तविक वर्षाको स्थान, समय र परिमाण भने पूर्वानुमानभन्दा फरक हुन सक्छ ।
सम्भावित जोखिमको वर्गीकरण दुई अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडलका आधारमा गरिएको हो । एक दिनमा कम्तीमा ६४.५ मिलिमिटर वा ७२ घण्टामा कम्तीमा १५० मिलिमिटर वर्षाको संकेत भएका जिल्लालाई अति उच्च जोखिममा राखिएको छ । त्यस्तै, एक दिनमा कम्तीमा ४० मिलिमिटर वा ७२ घण्टामा कम्तीमा १०० मिलिमिटर वर्षाको अनुमान गरिएका जिल्लालाई उच्च जोखिमको वर्गमा समेटिएको छ ।
सम्भावित वर्षाले सडक यातायात, पदयात्रा तथा कृषि कार्य प्रभावित पार्न सक्ने भएकाले यात्रु, किसान र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पूर्वतयारी अपनाउन आवश्यक देखिएको छ । विशेषगरी पहिरोको जोखिम भएका सडकमा यात्रा गर्ने तथा मनाङलगायत हिमाली क्षेत्रमा जानेहरूले मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्नु उपयुक्त हुनेछ ।


