Logo

Oct 25 2026

Oct 25 2026 | २०८३ कार्तिक ९ गते

images

नेपालका तीन जलवायु अनुकूलन परियोजना स्वीकृत, करोडौँ डलर लगानीको बाटो खुल्यो

नेपालका तीन जलवायु अनुकूलन परियोजना स्वीकृत, करोडौँ डलर लगानीको बाटो खुल्यो

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । अनुकूलन कोष (एडाप्टेसन फन्ड) ले नेपालमा जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जोखिम व्यवस्थापनसँग सम्बन्धित तीनवटा परियोजनालाई अघि बढाउने भएको छ। कोषको ४७औँ बोर्ड बैठकले प्रकृतिमा आधारित समाधान, जलवायु उत्थानशीलता अभिवृद्धि र बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने उद्देश्यका परियोजनाहरूका प्रस्ताव स्वीकृत गरेको हो।

    images

    बैठकमा नेपालका तर्फबाट कोषका बोर्ड सदस्य नरेश शर्माले सहभागिता जनाएका थिए। उनका अनुसार स्वीकृत परियोजनाले जलवायु परिवर्तनको जोखिममा रहेका समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै प्राकृतिक स्रोत तथा पारिस्थितिकीय प्रणालीको संरक्षणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    बैठकले राष्ट्रिय प्रकृति संरक्षण कोषले कार्यान्वयन गर्ने ‘ग्रीन कोशी’ परियोजनाका लागि ९९ लाख २७ हजार ७५० अमेरिकी डलर बराबरको अवधारणापत्र स्वीकृत गरेको छ। यस परियोजनाले प्रकृतिमा आधारित समाधानलाई प्राथमिकता दिँदै जलवायु परिवर्तनका असर सामना गर्न सक्ने क्षमता विकास र पारिस्थितिकीय प्रणालीको संरक्षणमा काम गर्नेछ।

    त्यस्तै, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले कार्यान्वयन गर्ने हिन्दुकुश हिमालय क्षेत्रमा अनुकूलन तथा बाढीपहिरोको पूर्वसूचना प्रणाली सुदृढ गर्ने ‘सेफ निब’ परियोजनाको पूर्व–अवधारणापत्र पनि स्वीकृत भएको छ। यस परियोजनाका लागि ३० करोड अमेरिकी डलरको बजेट प्रस्ताव गरिएको छ।

    संयुक्त राष्ट्रसङ्घीय मानव बस्ती कार्यक्रम (यूएन–ह्याबिट्याट) ले लुम्बिनी प्रदेशमा स्थानीय नेतृत्वमा प्रकृतिमा आधारित जलवायु कार्य सञ्चालन गरी उत्थानशील समुदाय निर्माण गर्ने परियोजना पनि अघि बढाउने भएको छ। उक्त परियोजनाका लागि करिब ४९ लाख ९९ हजार अमेरिकी डलरको अवधारणापत्र स्वीकृत गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार