काठमाडौं। कोभिड संक्रमण नियन्त्रणमा आएसँगै दक्षिण एसियाली मुलुकले पर्यटक आवागमन सहज बनाउँदै लगेका छन्। विदेशीको आवागमनमा रोक लगाएको म्यानमारले आउँदो अप्रिल १७ बाट नाका खुला गर्ने भएको छ। पर्यटकका लागि आफ्नो सीमानाका खुला गर्ने घोषणा गरेको हो।
म्यानमार सरकारले जारी गरेको सूचनाअनुसार कोभिडविरुद्धको खोप लगाएका जुनसुकै मुलुकका यात्रुलाई निर्वाध रुपमा भ्रमण गर्न दिइने छ। सन् २०२० मार्च २९ बाट म्यानमारले आफ्नो नाका बन्द गरेको थियो।
म्यानमार स्वास्थ्य मन्त्रालयका अनुसार खोप लगाइसकेका विदेशी पर्यटकले एक साताको क्वारेन्टिन बस्नुपर्ने प्रावधान बनाइएको छ।
भियतनाम, थाइल्याण्ड, सिंगापुर लगायत मुलुकले पालना गर्दै आएको स्वास्थ्य सुरक्षा मार्गनिर्देशिकालाई जारी राखेका छन्। म्यानमारले मुलुकको उड्डयन उद्योग विस्तारका लागि बोर्डर खुला गरिएको जनाइएको छ।
म्यानमारका होटल तथा पर्यटन मन्त्रालयको तथ्यांक अनुसार सन् २०१९ मा करिब २० लाख पर्यटकले भ्रमण गरेका थिए। कोरोना महामारीले आवागमन प्रभावित हुनुका साथै विदेशीको प्रवेशमा रोक लगाइदा पर्यटन र हवाई उड्डयन व्यवसायमा गम्भीर असर परेको छ।

