काठमाडौं । केन्द्रीय तथ्यांक विभागले आजदेखि देशभर कृषि गणना सुरु गर्दैछ । सातौँ कृषि गणना ७ सय ५३ वटै पालिकामा सुरु हुने केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।
३ लाख ५० हजार किसानका घरमा पुगेर कृषि गणना गर्न ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरीवेक्षक खटिएकाे केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीले जानकारी दिए ।
तथ्यांक संकलनका लागि गणक र सुपरीवेक्षकका लागि ४५ दिनको समय निर्धारण गरिएकाे छ । पशुपंक्षीको तथ्यांक, बाली, माछा, पशुपंक्षीपालन खेतीयोग्य जमिनको अवस्थाका बारेमा तथ्यांक संकलन हुनेछ । कृषि गणनामा कृषकलाई २४ प्रश्न सोधिनेछ । कृषि गणनाका लागि पाँच हजार २०० गणक र एक हजार ३०० सुपरीवेक्षक आआफ्नो कार्यस्थलमा पुगिसकेको छन् ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयको तथ्याङ्कमा नेपालमा हाल झण्डै ६६ प्रतिशत किसान रहेका र कूल गार्हस्थ उत्पादनमा कृषि तथा पशुपक्षी क्षेत्रको योगदान २७ प्रतिशत रहेको उल्लेख छ । राज्यले कृषिप्रधान मुलुक भने पनि भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको आठ महिना फागुन मसान्तसम्म कूल आयातको करिब एक तिहाइ अंश प्रत्यक्ष कृषिजन्य उत्पादनको छ ।
कृषि कर्म गर्नसक्ने युवा वैदेशिक रोजगारमा जानु, राष्ट्रिय गौरवका सिँचाइका आयोजना समयमा नै निर्माण हुन नसक्नु, खेतीयोग्य जमिन प्रायःघडेरीमा रुपान्तरण हुनु, राज्यले उचित समयमा रासायनिक मल, उन्नत बीउविजन उपलब्ध गराउन नसक्नु आदिले कृषिको परनिर्भरता बढ्दै गएको छ ।
यसअघि विसं २०६८ मा कृषि गणना भएको थियो । केन्द्रीय तथ्याङ्क विभागले प्रत्येक १०/१० वर्षमा कृषि गणना सुरु गर्दै आएको छ । यो सातौँ कृषि गणना हो । नेपालमा पहिलो कृषि गणना २०१८ सालमा भएको थियो ।

