काठमाडाैं । मेलम्ची खानेपानी आयाेजनाकाे पानी आजबाट काठमाडाैं उपत्यकामा वितरण सुरु भएकाे छ ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभाेक्ताकाे धारामा पुगेकाे हाे । साे अवसरमा मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौं आएसँगै अब यहाँ देखिएको पानीकाे संकट समाधान हुने बताएका छन्।
गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति राेकिएकाे थियाे ।सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएकाे हाे । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।
यसअघि ०७७ चैतमा पनि मेलम्चीको पानी काठमाडौं ल्याइएको थियो। त्यसबेला राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा मेलम्ची पानी वितरणको शुभारम्भ गरेकी थिइन्।

