Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

करार शिक्षकको परीक्षामा सेटिङकाे आशंका : ४ जनाको विज्ञापनमा ४ जना मात्र परीक्षार्थी

करार शिक्षकको परीक्षामा सेटिङकाे आशंका : ४ जनाको विज्ञापनमा ४ जना मात्र परीक्षार्थी

आर्थिक पत्र
आइतवार, फाल्गुण १४ २०७९
  • डोल्पा । डोल्पाको ठुलिभेरी नगरपालिका जुफालस्थित आर्दश माध्यमिक विद्यालयमा चार जनाको लागि खोलिएको शिक्षकको विज्ञापनमा चारजना परीक्षार्थी सहभागी गराएर परीक्षा सञ्चालन गरिएको पाइएको छ । 

    नगरपालिकाको शिक्षा शाखाका कर्मचारीको मिलेमत्तोमा उक्त परीक्षा गराएको हो । नगर प्रमुख शुवर्णकुमार बुढाको आदेशमा शिक्षा शाखा प्रमुखमा कार्यपालिकाको निर्णय नै नगरी प्रावि शिक्षक तृतिय श्रेणीका कनिष्ट भएका योग्यता नपुगेका शिक्षक कमल बुढालाई निमित्त शिक्षा शाखा प्रमुख बनाएर यस्ता काम हुँदै आएको स्रोतले बताएको छ । अहिले उनै निमित्त शिक्षा शाखा प्रमुख बुढाले शिक्षक नियुक्ति प्रक्रियामा विधि मिच्ने काम सुरु भएको आरोप लाग्दै आएको छ ।

    अस्थायी तथा करार शिक्षक छनौट प्रक्रियामा समितिको व्यवस्थाअनुसार सामाजिक विकास समितिको संयोजक रहने कानुनी व्यवस्था रहेको, तर सो समितिको अध्यक्ष नगर प्रमुखले अरूलाई नबनाएर आफैँ बसेको अवस्था रहेको छ । हाल नगरप्रमुख अहिले काठमाडौँ रहेको अवस्थामा निमित्त शिक्षा शाखा प्रमुख बुढाले धमाधम मनोमानी ढंगले परीक्षा सञ्चालन गर्नेदेखि करार शिक्षक नियुक्ति गरिरहेको आरोप लागेको हो । 

    परीक्षा सञ्चालनका लागि सम्बन्धित् विषयविज्ञ र गोपनीयताको आवश्यक पर्छ, तर यस्ता विषयमा ख्याल नै नगरी परीक्षा लिनुले गम्भीर आशंका उब्जिएको छ । बुढा भने नगरप्रमुखको फोन आदेशबाट परीक्षा सञ्चालन गरेको दावी गर्छन् । 

    परीक्षा सञ्चालनका लागि शिक्षक छनोट समितिको लिखित निर्णय बमोजिम सूचना प्रकाशन, प्रश्नपत्र निर्माणदेखि परीक्षा सञ्चालन, उत्तर पुस्तिका परीक्षण तथा नतिजा प्रकाशनसमेत लिखित निर्णय आवश्यक हुन्छ । तर, निमित्त शाखा प्रमुख बुढाले फोन आदेशको भरमा परीक्षा सञ्चालन गरेको दावी छ । 

    नगरपालिकामा नगर प्रमुख, कार्यालय प्रमुखदेखि सम्बन्धित् विषयविज्ञ नै नराखी परीक्षा सञ्चालन गरेकोबारे हाल कार्यालय प्रमुख रहेका नि प्रमुख प्रशासकीय अधिकृत डिलप्रसाद रोकायाले यस विषयमा कुनै जानकारी नभएको बताए । 

    विद्यालय व्यवस्थान समितिका अध्यक्ष खिमवहादुर सिंहले ४ जनाको विज्ञापनमा ४ जनाकै उपस्थितिले शंकास्पद भएको बताए ।  जिल्लाका इकाइ निमित्त कार्यालय प्रमुख दलवहादुर बस्नेत यसरी नियमविपरीत भएको परीक्षामा आफैँ सहभागी भएका छन्। कार्यालय प्रमुख र शिक्षक छनोट समितिको कुनै पनि लिखित निर्णय नगरी यस्ता गतिविधिमा तपाइ किन जानु भएको भन्ने प्रश्नमा उनले विद्यालयको पत्रको आधारमा गएको दावी गरे । शिक्षा क्षेत्रका विकृति र गलत कार्य रोक्ने निकाय नै यस्ता नियमविपरीतका कार्यमा संलग्न हुनुले कार्यालय प्रमुखमाथि नै प्रश्न उठेको छ। 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार