काठमाडौं । नेपालले भारतमा बिजुली निर्यात गर्न थालेको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार रातीदेखि त्रिशूली र देवीघाट जलविद्युत केन्द्रबाट उत्पादित बिजुली भारतमा निर्यात गर्न थालेको हो ।
बर्खा लागेसँगै उत्पादन बढेपछि ३९ मेगावाट बिजुली भारत निकासी गर्न थालेको प्राधिकरणका प्रवक्ता सुरेश बहादुर भट्टराईले जानकारी दिए । उनका अनुसार नुवाकोटमा संचालित त्रिशुली (२३.२८ मेगावाट) र देवीघाट (१४.५५ मेगावाट) विद्युत निकासी थालिएको हो।
अहिले प्राधिकरणले प्रतिदिन ९६ ब्लकमा नेपालबाट विजुली पठाउन सुरु गरेको छ । प्रति १५ मिनेटलाई एउटा ब्लक मानिन्छ र प्रतिदिन ९६ ब्लक हुन्छन् । सोही अनुसार विजुलीको मूल्य पनि फरक-फरक हुन्छ । भारतले प्रतियुनिट अधिकतम् १२ भारु अर्थात १९ रूपैयाँ २ पैसामा खरिद–विक्री गर्न सक्ने गरी सीमा तोकेको छ । सोही मूल्य अनुसार प्राधिकरणले बिजुली बिक्रीका लागि राखेको जनाएको छ ।
प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म इनर्जी बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नेछ । विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रतियुनिट बिक्री दर तय हुने छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात हुनेछ ।
आगामी साउनसम्म मर्स्याङदी, लिखु, कालीगण्डकी जलविद्युत आयोजनाको विजुली पनि निर्यात गर्ने तयारी भइरहेको भट्टराईले बताए । प्राधिकरणको स्वामित्वका मर्स्याङ्दी (६७ मेगावाट), मध्य मर्स्याङ्दी (६८ मेगावाट), त्रिशुली (२३.२८ मेगावाट), देवीघाट (१४.५५ मेगावाट), कालीगण्डकी ए (१४० मेगावाट), लिखु- ४ (५१ मेगावाट) लगायतका आयोजनाले कुल ३६४ मेगावाट विद्युत बेच्न पाउने अनुमति पाएका छन्।

